१३ चैत, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको बताएका छन् ।

उनले चीन काठमाडौं थप हवाई सेवा बिस्तार गर्न र केरुङबाट काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्नुपर्नेमा जोड दिए ।

बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आज नेपाल अध्ययन केन्द्रको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो भएको बताए ।

भूकम्पपछि अवरुद्ध तातोपानी नाका फेरि सञ्चालन गर्न चिनीयाँ नेतृत्वलाई आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले चिनीयाँ व्यवसायीलाई नेपालको जलस्रोत र पूर्वाधारका क्षेत्रमा लगानी गर्न समेत आह्वान गरे ।

सौर्य, वायो र हाइड्रो इनर्जीमा चिनीयाँ लगानीको आफूले अपेक्षा गरेको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले गत वर्ष चीनसँग भएका व्यापार तथा पारवहन सन्धिको प्रोटोकलहरुमा थप सहमति जुटाउन नेपालले प्राथमिकता दिएको जानकारी गराए ।

बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले ग्रेटवालको अवलोकन गरेका थिए ।

साताव्यापी चीन भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।