१५ भदौ, बाँके ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपामा फुट ल्याउनु जघन्य अपराध भएको बताएका छन् । उनले केही विदेशी र सरकारवादी पार्टीहरुले पशुपति शम्शेर राणालाई मोडा बनाएर पार्टी फुटाएको आरोप लगाए ।

राप्रपालाई सिध्याउन नियोजित ढंगले पार्टी फुटाएको बताउँदै अध्यक्ष थापाले देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण हुन नदिने षड्यन्त्र भइरहेको उल्लेख गरे ।

अध्यक्ष थापाले नेपालमा हिन्दू राष्ट्र स्थापना हुन नदिने अन्तर्राष्ट्रिय शक्तिले पार्टीभित्रै केही व्यक्तिलाई प्रयोग गरेर पार्टी फुटाएको आरोप लगाउँदै निर्वाचनका बेला पार्टीको विभाजनले क्षति हुने चिन्ता व्यक्त गरे ।

उनले अरुको इशारामा पार्टी फुटाएका पशुपति शम्शेर राणाले केही समयमै पार्टी फुटाएकोमा पछुताउने दावी गरे । उनले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनु र संविधान संसोधनमा राजी हुनुले पनि नेपाली जनताले पार्टी प्रति त्यति चित नबुझाएको धारणा राख्दै त्यसलाई गम्भीर राजनीतिक भूल भनेर केन्द्रीय कार्यसमिति बैठकले पास गरिसकेको बताए ।

अध्यक्ष थापाले विगतका कमी कमजोरी प्रति आत्मआलोचनासमेत गरे । स्थानीय तहका अध्यक्षहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय भेलालाई आज नेपालगन्जमा सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको स्पष्ट एजेण्डा हुँदाहुँदै पनि संगठनको कमजोरी र पार्टीले उचित स्थान नदिएको भन्ने भ्रममा पार्टीले स्थानीय तहको दुई चरणको निर्वाचनमा अप्रत्यासित नजिता भोग्नु परेको गुनासो गरे ।