२२ असार,  झापा ।

कांग्रेस प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुर नगरपालिकामा प्रमुख, उपप्रमुख र बहुमत वडासहित एमालेले जितेको छ । एमालेका जीवनकुमार श्रेष्ठ प्रमुखमा र एमालेकै चन्द्रा श्रेष्ठ उपप्रमुखमा निर्वाचित भएका छन्।

प्रमुख पदका विजेता श्रेष्ठले ११ हजार ४५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोख्रेलले ७ हजार २ सय १५ मत प्राप्त गरे । उप प्रमुख पदमा विजेता बनेकी चन्द्रा श्रेष्ठले १० हजार ६ सय ५० मत प्राप्त गरिन्। । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै तारादेवी भुर्तेलले ६ हजार ४ सय ९८ मत प्राप्त गरेकी छन्। ।

यो नतिजापछि दोस्रो चरणको स्थानीय निर्वाचनमा नेता सिटौलाले सबैभन्दा ठूलो क्षति ब्यहोरेका छन्। । उनको निर्वाचन क्षेत्रमै पर्ने कचनकवल गाउँपालिकामा यसअघि नै राप्रपाले प्रमुख, उपप्रमुखसहित बहुमत वडा जितिसकेको छ ।

उम्मेदवारी चयनमा नेता सिटौलाले मनोमानी गरेको भन्दै भद्रपुर काङ्ग्रेसमा ठूलो असन्तुष्टि देखिएको थियो । यहाँ कांग्रेसमा बागी उम्मेदवारीसमेत परेको थियो । तिब्र आन्तरिक विवाद बोकेर चुनावमा होमिएको कांग्रेसले अन्ततः आफ्नो परम्परागत आधार क्षेत्र नै गुमाएको छ ।

२०४९ मा भद्रपुरको मेयर जितेको एमालेले २०५४ मा नगरमा हारेको थियो । २५ वर्षपछि एमाले भद्रपुरमा शक्तिशाली उपस्थिति जनाउन सफल भएको छ । नगरका १० मध्ये ७ वडा पनि एमालेले जितेको छ । कङ्ग्रेसले २ र माओवादी केन्द्रले एउटा वडा जितेका छन् । नेता सिटौलाको निवास रहेको वडानम्बर १० मा एमालेको प्यानल नै विजेता भएको छ ।

झापाको राजनीतिक र ब्यापारिक केन्द्र विर्तामोड नगरमा एमालेले जितेको छ । प्रमुख, उपप्रमुखसहित बहुमत वडामा एमाले विजयी भएको हो । विर्तामोडको प्रमुख पदमा एमालेका ध्रुव शिवाकोटी ९ हजार १ सय १० मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका जलकुमार गुरुङले ८ हजार २ सय १६ मत प्राप्त गरे ।

उप प्रमुखमा एमालेकै पवित्रा महतारा प्रसाईं १० हजार ४ सय ३७ मत प्राप्त गरी विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकै पार्वता गिरीले ९ हजार ११ मत प्राप्त गरिन् । झापा क्षेत्र नम्बर २ मा पर्ने विर्तामोड नेपाली काङ्ग्रेसको प्रभाव क्षेत्र मानिन्थ्यो ।

कांग्रेस सांसद सुधिर शिवाकोटीको गृहनगर विर्तामोडमा एमालेले ६ वटा वडा जितेको छ भने काङ्ग्रेसले ३ वटा र राप्रपाले एउटा वडा जितेको छ । माओवादी केन्द्रले कुनै वडा जित्न सकेन ।

झापाको शिवसताक्षी नगरपालिकामा मेयर, उपप्रमुखसहित बहुमत वडा जितेर एमालेले आफ्नो पुरानो किल्लामा पुनरागमन गरेको छ । संविधानसभाको दुईवटै चुनावमा काँग्रेसले जितेको क्षेत्रमा पर्ने शिवसताक्षीमा यसपटक एमालेले विपक्षीहरु भन्दा ज्यादै ठूलो अन्तरले जितेको हो ।

गणना जारी रहेका दमक र अर्जुनधारा नगरमा एमालेको अग्रता छ भने मेचीनगर र बुद्धशान्ति गाउँपालिकामा काँग्रेसको अग्रता छ ।

नगर प्रमुखमा विजयी हुने क्रममा एमालेका चन्द्रकुमार शेर्माले १४ हजार ६ सय ८४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका परशुराम ढुंगानाले ९ हजार ८ सय ५६ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि एमालेकै भोजकुमारी नेपालले जितेकी छन् । १४ हजार ९ सय २६ मत ल्याएर उनी विजेता बन्दा उनकी प्रतिष्पर्धी काँग्रेसकी जयकुमारी चेम्जोङले ९ हजार ३ सय २४ मत प्राप्त गरेकी छन् ।

११ वटा वडा रहेको शिवसताक्षीका ९ वटा वडामा एमालेको प्यानलै विजयी भएको छ भने दुई वडाध्यक्षमा काँग्रेसले जितेको छ । माओवादी यो नगरमा पनि शुन्य भएको छ।

शिवसताक्षीको नतिजा आएसँगै झापामा एमाले पहिलो दल बन्ने निश्चित भएको छ । उसले शिवसताक्षी, भद्रपुर, विर्तामोड र कनकाई नगरपालिका तथा कमल गाउँपालिका जितिसकेको छ ।

काँग्रेसले गौरादह नगरसहित बाह्रदसी र झापा गाउँपालिका, राप्रपाले कचनकवल, हल्दीबारी र गौरीगञ्ज गाउँपालिका जितेका छन्। गणना जारी रहेका दमक र अर्जुनधारा नगरमा एमालेको अग्रता छ भने मेचीनगर र बुद्धशान्ति गाउँपालिकामा काँग्रेसको अग्रता छ।