२३ साउन, काठमाडौं ।
स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले आफ्नो कार्यकालमा गर्ने कामको प्रतिबद्धतापत्र जारी गरेका छन । आईतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले आफ्ना २६ प्रतिवद्धता सार्वजनिक गरेका हुन ।

प्रतिवद्धतामा नागरिकले आधारभूत स्वास्थ्यसेवा राज्यवाट निःशुल्क प्राप्त गर्ने अधिकारलाई सवै तहमा लागु गरिने , स्वास्थ्य विमाको नीति लागु गरिने, सवै जिल्ला र तहवाट गरिव तथा लक्षित वर्गलाई विमित गर्ने लागायतका स्वास्थ्य सुरक्षा लागु गरिने उल्लेख छ ।

दिगो विकास स्वास्थ्य सम्बन्धी लक्ष्यहरु प्राप्त गर्न स्वास्थ्य मन्त्रालय अहोरात्र प्रयत्नशील रहने मन्त्री पोखरेलले जानकारी दिए । स्वास्थ्य शुसासनलाई कडाइका साथ पालना गरिने , भ्रष्टाचार प्रति शुन्य सहनशीलता अपनाईने , अनुगमन र मुल्याकनलाई विषेश प्राथमिकताका साथ प्रभावकारी बनाई दण्ड र पुरस्कारको न्यायोचित प्रयोग गरिने उनले जानकारी दिए ।

प्रमाणको आधारमा स्वास्थ्य नीति तर्जुमा गर्न अनुसन्धान कार्यलाई उच्च प्राथमिकता दिईने प्रतिवद्धतामा उल्लेख छ । चिकित्सा शिक्षामा देखा परेका विकृतीहरुको सम्बन्धमा सो को सुदृढिकरणको लागि विभिन्न समयमा भएको आन्दोलन र मागहरुलाई उपयुक्त किसिमले निराकरण गर्न आवश्यक कदम अगाडि बढाईने मन्त्री पोखरेलले बताए ।

एकिकृत चिकित्सा शिक्षा विधेयक लगायत स्वास्थ्य सेवासँग सम्बन्धित विधेयकहरु पारित गर्न लाग्ने, जनयुद्ध, जनआन्दोलन र मधेश लगायतका विभिन्न आन्दोलनका घाइतेहरुको उचित स्वास्थ्य सेवा र व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।