२६ असोज, काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य बीमा विधेयक ऐनको रूपमा आउनु ठूलो उपलब्धि भएको बताएका छन । बुधबार मन्त्रालयले विधेयक पारित भएको अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले बीमा कार्यक्रम अब ऐनअनुसार चल्ने बताए ।

उनी भन्छन्, “जनताले दैनिक जीवनमा स्वास्थ्य सेवा पाएको महसुस गर्न पाउनेछन् । सरकारको जोड पनि त्यसैमा छ ।” उनले नसर्ने रोग धान्न नसक्ने गरी देखापरेकाले बीमाले यसलाई न्यून गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सरकारले दिने रु एक लाख ठूला रोगका लागि पर्याप्त नभएको समयमा आधारभूत स्वास्थ्य सेवाको जिम्मा राज्यले लिइदिँदा सेवाग्राहीलाई ठूलो मद्दत पुग्ने मन्त्री पोखरेलले बताए ।

उनले पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, अन्य पूर्व मन्त्रीहरू, सांसदहरू र सबै सरोकारवालालाई बीमा विधेयक पारित गराउन सहयोगी भूमिका खेलेको भन्दै धन्यवाद पनि ज्ञापन गरे । बीमा विधेयक गत वैशाखमा पूर्व स्वास्थ्य मन्त्री थापाले संसदमा दर्ता गराएका थिए ।

बीमा ऐनमार्फत जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन २०६८ सालदेखि प्रयास हुँदै आएको भएपनि विभिन्न अवरोध कारण सफल हुन सकेको थिएन ।