१४ वैशाख,  मलेखु (धादिङ) ।

गत फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक बुधबार खोजी दलले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा फेला पारेको छ ।

लामो समयको खोजीपछि खोंचमा खसेर एकजना बेहोस भएको र अर्का एक जना मृत अवस्थामा फेला परेको गणेश हिमाल पर्यटन विकास समितिका पूर्व अध्यक्ष कुलबहादुर गुरुङले बताए । एक्काइस वर्षीय लाइङ सिङ युन अचेत अवस्थामा फेला परेको र १९ वर्षीया लिउ चेन चुनको निधन भएको छ ।

बुधबार बिहान रुबीभ्यालीअन्तर्गत पाल्दोर पिक जाने बाटोमा पर्ने नार्चेत खोलाको किनारमा महिला ताइवानी पर्यटक लिउको शव भेटेपछि सँगै रहेको वनमा पुरुष पर्यटक लाइङ पनि फेला परेका थिए।

भिरको माथिबाट चिप्लिएर लडेको खोल्चामा पुगेकी महिलाको मृत्यु भएको तथा बीचमै अड्किएका पुरुष बेहोस अवस्थामा भेटिएका थिए। उनीहरु बिना पथप्रदर्शक लाङटाङ क्षेत्रमा पदयात्रामा गएका थिए ।

लाङटाङ राष्ट्रिय निकुञ्जको अनुमति लिएर धादिङको तिप्लीङ क्षेत्रबाट उनीहरुको अन्तिम पटक परिवारसँग कुरा भएको परिवारले जनाएको थियो । उनीहरुको खोजीका लागि भारतमा रहेको ताइवानी दूतावासले पर्यटक प्रहरी इकाइमा निवेदनसमेत दिएको थियो । प्रहरीले भने लाङटाङ राष्ट्रिय निकुञ्जमा फागुन १० गते प्रवेश गर्ने अनुमति लिएको कागजात पाइएको बताएको थियो ।

गणेश हिमाल विकास समिति धादिङका अध्यक्ष तेज गुरुङका अनुसार ४७ दिनसम्म रुखमा अल्झिएर जीवितै रहेका लाइङ र मृत भेटिएकी लिउलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। उनको अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार हुँदैछ।

एसियन ट्रेकिङ प्रालिमार्फत सदरमुकाम हुँदै फागुन २५ गते तिप्लिङको सो क्षेत्रमा पुगेको र होम स्टेमा बास बसेका उनीहरु हिमपात भइरहेको अवस्थामा निस्किएको बताइएको छ ।