“के तपाईँलाई थाहा छ, हाइ एक व्यक्तिबाट अर्कोमा सर्छ नि!”

-कुशल श्रेष्ठ

हामीहरू किन हाइ गर्छौँ भनेर ठ्याक्कै भन्नु त गाह्रो नै छ, तर हालै भएको अनुसन्धानको अनुसार हाइ गर्दा हाम्रो दिमागको तापक्रममा सन्तुलन आउँदछ भन्ने कुरा खुल्न गएको छ।

१. ‘हाइ’ के हो? ‘हाइ’ले हाम्रो शरीरमा के गर्दछ?

सर्पले नि गर्छ, माछाले नि गर्छ, गर्भभित्र भएको मानिसको बच्चाले नि गर्छ। र सायद तलको तस्विर हेरेको केहि छिन पछि तपाईँले नि गर्नुहुन्छः हाइ!yawning girl

पशु साम्राज्यमा ‘हाइ’ भन्ने तत्व जताततै देख्न सकिन्छ। तर यसरी जताततै देखिने भएतापनि अझसम्म वैज्ञानिकहरूले ‘हाइ’ किन आउँछ र यो एकबाट अर्कोमा कसरी सर्छ भन्ने कुराको ठेट उत्तर भने पत्ता लगाउन सकेका छैनन्।

‘हाइ’को बारेमा अध्ययन गरेका विशेषज्ञहरूले भने यो त्यति चाखलाग्दो विषय नभएको बताउँछन्, तैपनि उनीहरू यो प्रश्नको उत्तरतर्फ नजिकिँदै छन् भन्ने कुरामा विश्वस्त पनि छन्। धेरै जसो प्रयोगमा आएको सिद्धान्त भने यस्तो रहेको छ- “जब हामी हाइ गर्न मुख बाउँछौँ, त्यति बेला अक्सिजनले भरिएको हावा हामीले लिन्छौँ। उक्त अक्सिजन हाम्रो रगतमा मिस्सिन जान्छ र हामीलाई जगाइराख्न मद्दत गर्दछ।”

सुन्दा ठीकै हो जस्तो लाग्छ, है? तर अपसोचको कुरा, यो सिद्धान्त एक पौराणिक कथा जस्तै हो भन्छन् एक मनोवैज्ञानिक ‘स्टिभन प्लाटेक’। प्लाटेक ‘जोर्जिया ग्वीनेट कलेज’का प्राध्यापक पनि हुन्। अझसम्म, हाइ गर्दा हाम्रो रगतमा अक्सिजनको मात्रामा घटबढ हुने, रगतको चाप तथा हृदयको गतिमा घटबढ हुने जस्ता असरहरू देखिने कुनै प्रमाण भेटिएको छैन।

[quote_box_left]

एक परिकल्पनाको अनुसार, हाइको मूख्य काम गर्ने क्षेत्र भनेको मानिसको सबैभन्दा संवेदनशील र जटिल अङ्गमा पर्दछः दिमाग

[/quote_box_left]

“बङ्गारा तन्काउनु अनि मज्जाले मुख बाउनु, लामो सास भित्र लिनु त्यसपछि फेरि लामो सास बाहिर फाल्नु- यस्तो प्रक्रियाले तापक्रम नियन्त्रण गर्ने काम गर्दछ।”, मनोवैज्ञानिक ‘एन्ड्रयू ग्यालप’ भन्छन्। सहज भाषामा भन्नुपर्दा, यसले कोठा तताउने र चिस्याउने यन्त्रले जस्तै काम गर्दछ।yawning animals

२. ‘हाइ’लाई कसरी व्याख्या गर्न सकिन्छ?

सन् २००७ मा ग्यालपले गरेको अनुसन्धानमा, निधारमा तातो अथवा चिसो पदार्थ राखेर अरूले हाइ गरेको भिडियो हेर्दा त्यस व्यक्तिमा कस्तो असर हुन्छ भनेर पत्ता लगाएका थिए। अनुसन्धानमा भाग लिएका प्रतियोगीहरूले निधारमा तातो पदार्थ राखेर भिडियो हेर्दा उनीहरूले ४१ प्रतिशत चोटी हाइ गरेका थिए भने, चिसो पदार्थ राख्दा हाइ गर्ने प्रक्रिया केवल ९ प्रतिशतमा झरेको थियो।

यसलाई यसरी पनि व्याख्या गर्न सकिन्छ- “मानिसको दिमागले काम गर्नको लागि शरीरबाट निस्केको करीब ४० प्रतिशत जति ऊर्जा खपत गर्ने गर्दछ, त्यसको मतलब दिमागी अङ्गहरू अरू अङ्गहरू भन्दा बढी तातो हुने गर्दछ। जब हामी हाइ गर्छौँ, हावाको ठूलो अंश हाम्रो नाकको प्वाल र मुखको गुफाबाट छिर्दछ। हाम्रो नाक र मुखको बीचमा पर्ने खकारका झिल्लीहरूलाई रगतका वाहिकाहरूले घरेका हुन्छन्, जसले दिमागको अगाडिको हिस्सामा रगत पठाउन मद्दत गर्दछ। जब हामी हाइ गर्न बङ्गारा तन्काउँछौँ, तब हाम्रो दिमागमा जाने रगतको गति बढ्दछ र भित्र छिर्ने चिसो हावाले उक्त वाहिकाहरूबाट बग्ने रगतको तपक्रमलाई परिवर्तन गराउँदछ र दिमागमा चिसो हावा पठाउन मद्दत गर्दछ।”

मुसामा गरिएको एक अनुसन्धानमा, दिमागी तापक्रम बढ्ने प्रक्रियाले हाइ आएको देखिएको थियो। जब त्यो सानो मुसाले तिनिक्क मुख तन्काएर सास लियो, तब दिमागको तापक्रम घट्न थाल्यो। “यसले के प्रष्ट पार्छ भन्दा रगतमा अक्सिजनको मात्रा बढाउने हैन कि दिमागको तापक्रममा परिवर्तन गराउने काम हाइको हो। यसमा कुनै दुइ मत हुन सक्दैन।”। प्लाटेक भन्छन्।

३. त्यसो भए, किन सुत्ने बेला र उठेपछि धेरै जसो ‘हाइ’ आउँछ?

‘हाइ’ भन्ने तत्वलाई ‘कोठा तताउने र चिसो गराउने यन्त्र’ जस्तो मान्यो भने, हामीलाई सुत्ने बेला र उठेपछि धेरै हाइ किन आउँछ भन्ने कुरा बुझ्न सजिलो पर्दछ।

हरेक २४ घण्टाको अन्तरमा हामीमा शारीरिक, मानसिक तथा व्यवहारीक परिवर्तनहरू आउँदछन्। ती परिवर्तनहरू मूख्य गरि वातावरणमा हुने उज्यालो र अँध्यारोको कारणले गर्दा आउँदछन्। यस्ता परिवर्तनलाई मनोवैज्ञानिक भाषामा ‘सर्क्याडियन रिदम’ (circadian rhythm) भनिन्छ। अनि, हामी सुत्नुभन्दा अगाडि यहि सर्क्याडियन रिदम प्रक्रिया हुने गर्दछ, जसले हाम्रो दिमागलाई सबैभन्दा बढी तताइरहेको हुन्छ। त्यसैले दिमागको तापक्रमलाई नियन्त्रण गर्नको लागि हाइ आउँछ र बिस्तारै तापक्रम घट्दै जान्छ। तर जब हामी भर्खर उठ्छौँ, त्यतिबेला शरीर र दिमागको तापक्रम बढ्ने क्रम दिनको अरूबेला भन्दा बढी भैरहेको हुन्छ। त्यसैले हामी एकचोटी हात-मुख धोएर नबसुञ्जेल हाइ आउन छोड्दैन।

[quote_box_right]

ग्यालप भन्छन्, “स्वस्थ मानिसले दिनमा सरदर ८ चोटी हाइ गर्छ।”

[/quote_box_right]

बिहानीपख एक-दुई चोटी मीठो हाइ गरेपछि शरीरमा स्फूर्ती किन आउँछ भनेर वैज्ञानिकहरूले अझसम्म ठ्याक्कै पत्ता लगाउन नसकेपनि, प्लाटेकका अनुसार, “किनभने हाम्रो दिमाग तातो भएको अवस्था भन्दा चिसो भएको अवस्थामा पूर्ण रूपले काम गर्न सक्दछ, त्यसैले नै हाइ पछि शरीरमा सतर्कता र स्फूर्ती बढ्ने गर्दछ।”

४. त्यस्तै हो भने, हाइ किन एकबाट अर्कोमा सर्छ त?

तपाईँले याद गर्नुभएको छ होला, अरू कसैले हाइ गरेको देख्नुभयो भने, एकछिन पछि होस् या सोहीबेला तपाईँलाइ पनि पक्कै हाइ आउँछ। यस्तो किन हुन्छ भन्ने बारेमा प्लाटेकले यसो भनेका छन्, “प्रारम्भिक मानव जाति तथा अरू सामाजिक प्राणीहरूमा दिमागलाई चिसो राख्नुपर्छ भन्ने बारेमा प्रत्यक्ष जानकारी नभएपनि, अप्रत्यक्ष रूपमा उनीहरूले हाइ गर्दै आएका हुन्। यदि मैले अरू कसैले हाइ गरेको देखेँ भने, मेरो दिमागको अवचेतन भागले त्यसलाई पछ्याउन खोज्दछ। किनभने, यदि उसको-अनि-त्यसको दिमाग तातिरहेको छ भने मेरो दिमाग पनि तातिरहेको होला र मैले पनि त्यस तापक्रमलाई नियन्त्रण गर्नुपर्छ भन्ने चेतना हाम्रो दिमागमा आउँछ, जुन कुरा हामीलाई अवगत हुँदैन। अरूलाई पछ्याउने यो व्यवहारले सामाजिक प्राणीलाई समूहमा बाँच्न मद्दत पनि गर्दछ।”baby inside womb can yawn

हुन पनि हो, प्रकृतिमा हामीजस्तै अन्य सामाजिक प्राणीहरू पनि बस्दछन्, तर एक-अर्काको भावनालाई बुझेर सहानुभूती प्रकट गर्ने क्षमता केवल मानवजातिमा मात्र प्रष्ट रूपमा देख्न सकिन्छ। त्यसैले नै अरू कोहि हाँसेको देख्दा हामीलाई पनि उसको खुसीमा सामील हुन मन लाग्छ र हामी पनि उसको हाँसो सँगै हाँस्न पुग्छौँ। हाइ गर्दा पनि यस्तै हुने गर्दछ, कसैले हाइ गरेको देख्यौँ, हामी पनि गर्छौँ, तर यसको मतलब उसलाई सहानुभूती दिएको होइन, यो त केवल हाम्रो शरीर र दिमागले काम गर्ने ढङ्ग हो।

तर प्लाटेक भन्छन् कि ६० देखि ७० प्रतिशत व्यक्तिमा मात्रै हाइ सर्दछ- यानिकी, यदि हाइ गरेको तस्विर वा भिडियो देख्यो भने धेरैजसोले त्यसैलाई पछ्याउछन्। यस्तो व्यवहार भनेको त्यस्तो व्यक्तिमा हुन्छ जसले अरूको भावनालाई बुझ्न सक्दछ।

सरुवा हाइ मानिसमा मात्र नभई मानिसको नजिकको नाता पर्ने चिम्पान्जी, बाँदर र सामाजिक प्रकृति भएका प्राणीहरूमा पनि हुने गर्दछ। यसले फेरि अर्को अप्ठ्यारो प्रश्नको सिर्जना गर्दछ- “मानिस बाहेक अन्य सामाजिक प्राणीहरूमा पनि सरुवा हाइ हुन्छ भने के उनीहरूमा पनि अरूको भावनालाई बुझेर सहानुभूती प्रकट गर्न सक्ने क्षमता हुन्छ त?”