२८ वैशाख , काठमाडौं ।

एथलेटिको म्याड्रिडसँग २–१ गोल अन्तरले पराजित भए पनि रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सकिएको खेलमा रियल हार्दा पनि समग्रमा ४–२ को अन्तरले फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा एथलेटिकोलाई रियलले ३–० हराएपछि दोस्रो लेगमा पराजित भएपछि फाइनलमा प्रवेश गरेको हो ।

अब आगामी ३ जुनमा वेल्सको कार्डिफमा रियल र इटालियन युभेन्टस्बीच फाइनल खेल हुनेछ । युभेन्टस्ले मोनोकोलाई हराउँदै फाइनलको यात्रा तय गरिसकेको छ ।

पहिलो खेलमा ३–० पछि परेको स्थिति रहे पनि एथलेटिकोले आफ्नै मैदानमा भएको दोस्रो लेगमा सुरुदेखि नै लय देखाएको थियो । १२ औं मिनेटमा साउल गोल गरेपछि १६ औं मिनेटमा प्राप्त पेनाल्टीलाई एन्टिनियो ग्रिजम्यानले गोलमा परिणत गरेपछि चार मिनेटमा एथलेटिकाले २–० को अग्रता लिंदै एथलेटिकोलाई अत्याएको थियो । तर, पहिलो हाफ सकिंनै लाग्दा ४२ औं मिनेटमा करिम बेन्जमाले प्रहार गरेको बल फर्किएर आउँदा इस्को गोलमा परिणत गरेपछि रियल खेलमा फर्किन पुग्यो । त्यसपछि दोस्रो हाफमा पनि एथलेटिकोलाई थुप्रैपटक अत्यायो तर, गोल गर्न सकेन । पहिलो लेगमा ह्याट्रिक गरेका रोनाल्डोले दोस्रो लेगमा थुप्रै अवसर पाए पनि गोल गर्न सकेनन् ।

गतवर्षको विजेता रहेको रियल यसपटक पनि फाइनलमा प्रवेश गरेको हो । गतवर्ष एथलेटिकोलाई नै फाइनलमा हराउँदै रियलले उपाधि जितेको थियो । यसपटक फेरि एथलेटिको रियलसँगै रोकियो ।

रियलले अब १५ औं पटक च्याम्पियन्स लिगको फाइनल खेल्न लागेको हो । ३ जुनमा हुने फाइनल जिते पछिल्लो स्वरुपको च्याम्पियन्स लिग लगातार दुईपटक जित्ने रियल पहिलो क्लब हुनेछ ।