६ वैशाख, सिन्धुली । सिन्धुलीमा आज साँझ हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अरु दुईजना भने घाइते भएका छन् ।

चट्याङ लाग्दा कमलामाई नगरपालिका–११ राउन्डेकी ३४ वर्षीया बेलकुमारी श्रेष्ठको मृत्यु भएको स्थानीय बुद्धिराज श्रेष्ठले बताए । खेतमा घाँस काटिरहेको अवस्थामा चट्याङले लागेर श्रेष्ठको मृत्यु भएको उनले जानकारी दिए ।

त्यस्तै, सिन्धुलीकै कमलामाई नगरपालिका–२ भद्रकालीमा पनि चट्याङ लागेर दुईजना घाइते भएका छन् । भद्रकालीस्थित जुम्लीडाँडाकी ३६ वर्षीया सीतामाया स्याङबा र सोही ठाउँकी १५ वर्षीया विष्णुमाया गोले घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।