२८ भदौ,पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आज यहाँ आयोजना गरेको पार्टीको पश्चिमाञ्चल विकास क्षेत्रीयस्तरको स्थानीय तहका अध्यक्षको सम्मेलनको उद्घाटन गर्दै उहाँले आफ्नो पार्टी विभाजन देशी विदेशी शक्तिको डिजाइनअनुसार नै भएको आरोप लगाए ।

मनोनित गरिएका केही सांसदले समेत पार्टी फुटाउने काम गरेको बताउँदै उनले पार्टी विभाजनबाट कत्ति पनि चिन्तित भएर विचलित नहुनसमेत पार्टी कार्यकर्तालाई आग्रह गरे । स्थानीय तहको निर्वाचनमा अपेक्षित सफलता पाउन नसक्नुमा पार्टीका एजेण्डा जनस्तरसम्म पु¥याउन नसक्नु, पार्टी संगठन कमजोर र निर्वाचनका लागि तयारी गर्न नसक्नु मुख्य कारण रहको उनको भनाइ थियो ।

कार्यक्रममा सहमहामन्त्री हेमजंग गुरुङ, केन्द्रीय सदस्यहरू तोरणबहादुर गुरुङ, भिमसेन गुरुङ, कुलबहादुर गुरुङलगायतका वक्ताहरूले पार्टीको गतिविधिका बारेमा मन्तव्य व्यक्त गरेका थिए।

दुई दिनसम्म चल्ने सम्मेलनमा यस क्षेत्रका १६ वटै जिल्लाका जिल्ला, क्षेत्र, नगर र गाउँस्तरका अध्यक्षहरूको सहभागिता रहेको छ । रासस