१ साउन, काठमाडौं ।

आजदेखि १० लाख रुपैयाँ भन्दा बढि कारोबार नगदमा गर्न नपाइने नियम लागु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ को दफा ४४ ग अनुसार १० लाख भन्दा माथिको कारोबार गर्नु परेमा बैंकिङ प्रणालीबाट गर्नुपर्ने ब्यवस्थालाई कडाई गरिएको हो ।

सम्पति शुद्धिकरण विभागका अनुसार नियम उलंघन गरेको पाइएमा जफत गरी बिगो बराबरको जरिवाना हुने ब्यवस्था छ । विभागका अनुसार कुनै सम्पत्ति खरिद बिक्री, सापटी जस्ता काम गर्दा १० लाख रुपैयाँ भन्दा बढि भएमा बैंकिङ प्रणाली नै अपनाउनुपर्ने बाध्यात्मक ब्यवस्था छ ।

कुनै ब्यक्ति, फार्म, कम्पनी वा संस्था सबैले नियम अनिवार्य मान्नुपर्नेछ । सरकारले अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन तथा सबै नागरिकलाई बैंकिङ प्रणालीमा ल्याउने उदेश्यले यो ब्यवस्था लागु गरेको हो ।

यो प्रणालीले गर्दा गैरकानुनी काम, भ्रष्टचारजन्य क्रियाकलापबाट आर्जेको रकम संकलन, बाँडफाँड, प्रयोग र परिचालनसमेत नियन्त्रणमा आउने अपेक्षा गरिएको छ ।