२५ चैत, काठमाडौं । नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका असमान बुँदा ‘सच्याउनु पर्छ’ भन्नेमा नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी) का सदस्य सकारात्मक बनेपछि थप छलफलका लागि चौथो बैठक जेठ १५ देखि १७ गतेसम्म भारतको देहरादुनमा बस्ने भएको छ । इपिजी तेस्रो बैठक बिहीबार काठमाडौंमा सम्पन्न भएको हो ।

काठमाडौंमा बसेको दुईदिने तेस्रो बैठकमा नेपालले १९५० को सन्धिका असमान तथा असान्दर्भिक बुँदा सूचीबद्ध गरी प्रस्तुत गरेको थियो । नेपाल पक्षले नेपाल–भारतबीच जलस्रोत, व्यापार, पारवहन, सुरक्षा, सीमालगायत विषयमा भएका सन्धि तथा सम्झौताका असान्दर्भिक र असमान बुँदा पनि छलफलमा राख्यो ।  बैठकमा नेपालले राखेका बुँदालाई भारतीय पक्षले निकै सकारात्मक रुपमा लिएको आजको नागरिक दैनिकमा खबर छ ।