कुशल श्रेष्ठ

परिवर्तन नै प्रकृति हो, अनि प्रकृति नै परिवर्तन हो। समयअनुसार हरेक कुराको परिवर्तन हुनु प्रकृतिको नियम हो। हाम्रो जीवनमा कुनै पनि किसिमको परिवर्तन आएन भने, हामी प्रकृतिको अङ्ग भएको कुनै अस्तित्व रहँदैन। सेकेण्ड-सेकेण्डमा तपाईँको जीवनमा नयाँ सुरुवात भैरहेको हुन्छ, चाहे तपाईँ मान्नुस् या नमान्नुस् बितेका कुराहरूलाई तपाईँले चाहेर पनि फिर्ता ल्याउन सक्नुहुन्न, त्यसैले त भनिन्छ “बगेको खोला फर्कँदैन, मौका आउँछ पर्खँदैन!”

हरेक व्यक्तिले आफ्नो जीवनमा ‘पहिलो प्रेम’को चरण पार गर्नैपर्ने हुन्छ। कोही भाग्यमानी पनि हुन्छन्, जसले आफ्नो पहिलो प्रेमलाई सुमधुर सम्बन्धमा परिणत गर्न सक्छन्। कोही यस्ता पनि हुन्छन्, जसको सपनाको राजकुमार/री सपनामै सिमित हुन्छन्। तर अतितका कुरालाई वर्तमानमा पर्खाल बन्न दिनुहुँदैन।

एक सुमधुर प्रेमसम्बन्धको बिच्छेदपश्चात जीवनमा अगाडि बढ्न धेरै गाह्रो पर्दछ। तर, आफ्नो पीडालाई कुल्चेर अगाडि बढ्न सकियो भने जीवनमा अरू पनि थुप्रै मोड र पथहरू रहेछन् भनेर थाहा पाउन सकिन्छ। अनि बल्ल बुझ्न सकिन्छ, जीवनको अस्तित्व! के थाहा, तपाईँको जीवनमा पूर्वप्रेम/प्रेमिका भन्दा योग्य व्यक्तिसँग सम्बन्ध गाँस्सिन पो लेखेको छ कि?

हुन त, भन्न जति सजिलो हुन्छ, व्यवहारमा उतार्न त्यति नै गाह्रो हुन्छ। तैपनि, तपाईँको त्यही निष्ठूरी भू.पू. मायालुलाई बिर्सने केहि उपायहरू छन्, सायद यसलाई जीवनमा लागू गर्दा तपाईँ पीडाबाट मुक्त हुनसक्नुहुन्छ कि?

१. सम्पर्कमा नरहनुहोस्

How to forget Love of Your Life (3)आजकालका प्रेमीप्रेमिकाहरूको सञ्चार माध्यम नै मोबाइल हो। यदि तपाईँ आफ्नो भू.पू. मायालुलाई साँच्चिकै बिर्सन चाहनुहुन्छ भने, तपाईँको मोबाइलमा भएका उसको फोन नम्बर, फोटोहरू, म्यासेजहरू सबै फालिदिनुहोस्। अझ नम्बरलाई ब्लक गर्दा झनै राम्रो। ऊसँग फेसबुकमा साथी हुनुहुन्छ भने साथीको सूचीबाट हटाउनुहोस्, ब्लक गरिदिनुहोस्, म्यासेजहरू पनि सबै हटाइदिनुहोस्। हो, गाह्रो हुन्छ, तर अगाडि बढ्ने कोशिस गर्नुहोस्, असम्भव केहि पनि छैन।

२. भौतिक चिनोहरू पनि फालिदिनुहोस्

चिट्ठी, गिफ्ट तथा तपाईँको निष्ठूरीले दिएका सबै चिनोहरूलाई तपाईँले कहिल्यै पनि नदेख्ने गरी फालिदिनुहोस्। बेला-बेला उसैको याद दिलाउने सबै कुराहरूलाई तपाईँको नजरबाट मुक्त गराउनुहोस्। कुनै-कुनै यस्ता वस्तुहरू हुन्छन्, जसलाई फाल्न सकिँदैन, जस्तै; गर-गहना, लुगा। यस्ता वस्तुहरूलाई नदेख्ने ठाउँमा लुकाएर राख्नुहोस्। पूर्णरूपले जीवनमा अगाडि बढ्न चाहनुहुन्छ भने यस्ता वस्तुहरूलाई बाकसमा ताल्चा लगाएर राख्नुहोस्।How to forget Love of Your Life (2)

३. पूर्व प्रेमका विशेष दिनहरूमा छुट्टै योजना बनाउनुहोस्

प्रेम सम्बन्धको वार्षिकोत्सव अथवा त्यस्तै विशेष दिनहरूमा पूर्व प्रेमको यादबाट टाढा रहनको लागि आफ्नै छुट्टै योजना बनाउनुहोस्। तपाईँको आफ्नै मित्रहरू हुन सक्छन्, उनीहरूसँग चलचित्र हेर्न जानुहोस्, परिवारसँग कतै घुम्न जानुहोस्। तर एक्लै नबस्नुहोस्, एक्लै हुँदा मनमा नानाथरी कुराहरू खेल्न सक्छन्, जसले तपाईँको मनस्थितीलाई भताभूङ्ग बनाइदिन सक्छ।

४. जीवनको रीतलाई बुझ्ने कोशिस गर्नुहोस्

समय आउँछ, जान्छ तर गएको समयमा नै झुण्डिएर बस्नु कदाचित हुँदैन। याद गर्नुहोस्, तपाईँ बितेका समयमा अल्झेर बस्नुहुन्छ, तर समय कसैको लागि स्थिर बस्दैन। नयाँ समयमा नयाँ अनुभव पाउन सक्नुहुन्छ। यहि नै जीवनको रीत हो, प्रकृति हो।How to forget Love of Your Life (5)

हरेक व्यक्तिको मानसिक तथा भावनात्मक स्थिती फरक-फरक हुन्छ, कसैले एकैछिनमै भुल्न सक्छन् भने कसैलाई वर्षौँ लाग्न सक्छ। तर हार नखानुहोस्।

५. नयाँ काम गर्नुहोस्, नयाँ उदेश्य बनाउनुहोस्

हुन सक्छ, तपाईँको निष्ठूरी मायालु तपाईँकै कार्यालयमा काम गर्दै छ, अनि हरेक दिन तपाईँले उसलाई देख्दा पीडाले भक्कानिनुहुन्छ। के गर्ने?

कि त तपाईँ त्यहि कार्यालय मै काम गरेर उसलाई पूर्णरूपमा बेवास्ता गर्न सक्नुहुन्छ। ऊ तपाईँको बिगत थियो, होला तपाईँ ऊ बिना बाँच्न सक्नुहुन्थेन, तर समय परिवर्तन भैसकेको छ भनेर सोच्नुहोस्, वर्तमानलाई बुझ्ने कोशिस गर्नुहोस्। त्यति गर्न सक्नुहुन्न भने, अर्को काम थाल्नुहोस्। किनभने, जीवनमा धेरै बाटाहरू हुन्छन्। एउटा बाटोबाट हिँड्न मुश्किल पर्यो भने अर्को बाटोबाट पनि हिँड्न सक्नुहुन्छ, नयाँ उदेश्य बनाउन सक्नुहुन्छ।How to forget Love of Your Life (4)

६. नयाँ साथी बनाउनुहोस्, पुराना साथीहरूसँग मित्रता बलियो बनाउनुहोस्

सच्चा मित्रताको सम्बन्ध प्रेम भन्दा पनि बलियो हुन्छ। यस्तो साथी बनाउनुहोस्, जसले तपाईँको भावनालाई बुझ्दछ, जसले तपाईँको सुखदुःखमा साथ दिन्छ। जीवनको हरेक पलमा विभिन्न किसिमका मानिसहरूसँग भेट हुन्छ, सबैलाई मित्र बनाउनुस् भन्न खोजेको होइन। तर सकेसम्म धेरै मानिसहरूसँग बोल्नुहोस्, यसो गर्दा तपाईँको एक्लोपना पनि दूर हुन्छ अनि नयाँ व्यक्तिबाट नयाँ अनुभव सुन्न पाउनुहुन्छ। हुन सक्छ, त्यो व्यक्तिले पनि आफ्नो पहिलो प्रेमलाई भुलेर आएको छ, उसबाट अनुभव बटुल्न सक्नुहुन्छ।How to forget Love of Your Life (7)

तर तपाईँका पुराना साथीहरूलाई (पुरानो मायालु बाहेक) भने नबिर्सनुहोस्। किनभने, सच्चा साथीहरू बिरलै भेटिन्छन्। तपाईँले आफ्नो जीवनमा बनाउनुभएका साथीहरू भनेका तपाईँकै जीवनको एउटा अमूल्य अङ्ग हो, जसलाई तपाईँले चाहेर पनि छुट्याउन सक्नुहुन्न। ती साथीहरूसँग भेट्नुहोस्, रमाइलो गर्नुहोस्, उनीहरूको जीवनमा के-कस्ता घटना भए बुझ्नुहोस्, आफ्ना कुराहरू पनि खुलेर भन्नुहोस्। किनभने सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ।

७. सकारात्मक सोच्ने गर्नुहोस्

नकारात्मकता भनेको यस्तो वैगून हो जुन क्यान्सरभन्दा पनि घातक हुन्छ। बितेका कुरालाई नकारात्मक तरिकाले सोचेर किन आफ्नो मानसिकतालाई कमजोर बनाउनुहुन्छ? त्यही कुरालाई सकारात्मक तवरले सोच्नुहोस् त!How to forget Love of Your Life (6)

“मेरो जीवनको पहिलो प्रेमलाई मैले पाउन सकिनँ!” भनेर दुःख पोख्नु बुद्धिमानी होइन, त्यसमा कसैले सहानुभूती प्रकट गर्नेवाला पनि छैन, त्यस्तो सोँचले झन् तपाईँलाई असन्तुलित बनाउँदछ। बरु, “पहिलो पछि त दोश्रो आइहाल्छ नि!” भनेर सोच्नुहोस्, आफ्नो स्वाभिमानलाई गिर्न नदिनुहोस्। ‘सकारात्मकता’लाई पीडाको युद्धमा हतियार बनाउनुहोस्।

अन्त्यमा, यी त सबै आदर्शका कुराहरू हुन्, यसलाई जीवनमा लागू गर्ने-नगर्ने सबै तपाईँको हातमा छ। एकचोटि गम्भिर भएर सोच्नुहोस्, “मेरो उदेश्य के हो? के म हिँड्न खोजेको बाटो यही हो? के म सँधै यसरी नै दुःखी भएर बस्ने हो?” तपाईँ जुन सोचको धरातलमा हुनुहुन्छ, त्यसबाट माथि उत्रेर हेर्ने कोशिस गर्नुहोस् अनि थाहा पाउनुहुन्छ, संसार कति सुन्दर छ भनेर!