२ फागुन काठमाडौं ।

भारत, बरौनी डिपोबाट माघमा मात्र जोगबनी नाका हुँदै ८ सय ६१ ट्यांकर डिजेल, २ सय ६७ ट्यांकर पेट्रोल र २ सय ८ बुलेट ग्यास भित्रिएको छ। त्यही अवधिमा विराट पेट्रोले पनि जोगबनी नाकाबाट १२ ट्यांकर पेट्रोल आयात गरेको छ।

बजारमा भने पेट्रोलियम हाहाकार कायमै छ। किन?

व्यवसायी भन्छन्– बजार कालोबजारीकै हातमा छ, यो खोस्न कम्तीमा चार महिना लाग्छ।

‘चार महिनादेखि कालोबजारियाको हातमा रहेको पेट्रोलियम पदार्थको बजार खोस्न समय लाग्छ,’ एक तेल व्यवसायीले भने, ‘इन्धनको कालोबजारको तार धेरैतिर जोडिएको छ, त्यसैले पनि आपूर्ति सहज भए पनि उपभोक्ताले सजिलै पेट्रोलियम पदार्थ पाएका छैनन्।’

पेट्रोलियम व्यवसायीका अनुसार माघ महिनामा मात्र एउटै नाका (जोगवनी) बाट आयात भएको पेट्रोलियम पदार्थको परिमाण सहज वितरण गरिए कोसी–सगरमाथामा महिनौंलाई फालाफाल हुन्छ। उच्च परिमाणमा पेट्रोलियम पदार्थ आयात भए पनि बजारमा इन्धनको हाहाकार कायमै छ।

स्रोतका अनुसार आयात भइरहे पनि पेट्रोलियम पदार्थको सहज बिक्री–वितरण नहोस् भन्ने चाहना आयल निगम, पेट्रोलियम व्यवसायी, वितरण प्रणालीमा एकाधिकार कायम राखेको जिल्लास्थित प्रमुख जिल्ला अधिकारी र तस्करी गर्ने तेलका कालोबजारियाको पनि हो।

नाकाबन्दीपछि असहज परिस्थिति भन्दै निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयात गर्न दिइएको सरकारी मान्यताले पनि इन्धनको सहज बिक्री–वितरण हुन सकेको छैन। ‘फनिस आयल भन्दै धेरै व्यवसायीले डिजेल आयात गरेका छन्,’ स्रोतले भन्यो, ‘व्यवसायी र कालोबजारियाको स्टक नरित्तिएसम्म पेट्रोलियम पदार्थ सहज आपूर्ति हुन दिँदैनन्।’

विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार बरौनी डिपोबाट सामान्य अवस्थामा झैँ पेट्रोलियम पदार्थ आयात हुन थालेको पुसदेखि नै हो। तर, साउन अन्तिमदेखि बन्द भएका बजारका पेट्रोलपम्प अझै खुलेका छैनन्।

१५–१५ दिनमा उपभोक्ताले लाममा सास्ती खेप्दै सिडिओले तोकेको परिमाणको पेट्रोलियम पदार्थ मात्र पाउँछन्। वीरगन्ज नाका सुचारू भएको साता नाघे पनि जोगवनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थको स्टक ट्रान्सफर अझै रोकिएको छैन।

नेपाल आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोले दैनिक ३ लाख लिटर डिजेल र १ लाख लिटर पेट्रोल अमलेखगन्ज र थानकोट डिपोमा स्टक ट्रान्सफर गर्छन्। ‘वीरगन्ज नाका खुलेपछि अमलेखगन्ज र थानकोटमा पेट्रोलियम पदार्थको भण्डारण बढेको छ,’ एक इन्धन व्यवसायीले भने, ‘पूर्वी नेपालको अभाव हटाउन स्टक ट्रान्सफर रोक्नुपर्छ।’

नेपाल आयल निगम, विराटनगरका अनुसार प्रमुख जिल्ला अधिकारीको नियन्त्रणमा रहेको पेट्रोलियम पदार्थको वितरण प्रणाली र स्टक ट्रान्सफर गरेर काठमाडौं पठाउनुपर्ने इन्धनमा रोक लगाइएकै दिनदेखि बिक्री–वितरण सहज हुन्छ।

‘थानकोट र अमलेखगन्जको ट्यांकी खाली थियो,’ निगमका विराटनगर प्रमुख भुवन रेग्मीले नागरिकसँग भने, ‘वीरगन्ज नाका खुलेपछि त्यहाँ इन्धन भण्डारण गर्न थालिएको छ।’ उनले थानकोट र अमलेखगन्जमा पूर्ण क्षमतामा तेल भण्डारण भएपछि पेट्रोलियम पदार्थ आपूर्ति सहज हुने बताए।  नागरिक दैनिकमा खबर छ ।