कास्कीमा १० हजार परिक्षार्थी, पश्चिमाञ्चलमा एक लाख

५ चैत्र, पोखरा  । भोलिेदखि सुरु हुने एसएलसी परिक्षाको तयारी पुरा भएको छ । क्षेत्रिय शिक्षा निर्देशनालयका अनुसार पश्चिमाञ्चल बिकास क्षेत्रका १६ वटै जिल्लामा परिक्षाको सबै तयारी पुरा भएको छ ।

सबै परिक्षा केन्द्रमा प्रश्नपत्र र उत्तर पुस्तिका पुग्नुको साथै आबश्यक सुरक्षा प्रबन्ध र केन्द्र ब्यबस्थापनको काम सकिएको कार्यालयका उप – निर्देशक मोतीलाल शर्माले जानकारी दिए । परिक्षालाई ब्यबस्थित र मर्यादित बनाउनको लागि आबश्यक निर्देशन सबै जिल्ला शिक्षा कार्यालय मार्फत केन्द्राध्यक्षलाई दिईसकिएको छ ।

यस बर्षको एसएलसी परिक्षामा पश्चिमाञ्चलका १६ वटा जिल्लाबाट एक लाख भन्दा बढी परिक्षार्थी सहभागि हुदैछन् । परिक्षामा पश्चिमाञ्चलका १६ जिल्लामा ३ सय ८० परिक्षा केन्द्रबाट एक लाख एक हजार ८ सय ७९ परिक्षार्थी सहभागि हुने क्षेत्रिय शिक्षा निर्देशनालय पोखराले जनाएको छ ।
जस अनुसार नियमित तर्फ ४० हजार ६ सय ५५ छात्र र ४० हजार ८ सय ६७ छात्रा गरी कुल ८१ हजार ५ सय २२ बिद्यार्थीले परिक्षा दिदैछन् । एक्जाम्टेड तर्फ ७ हजार ५ सय ३४ छात्र तथा १२ हजार ८ सय २३ छात्रा गरी २० हजार ३ सय ५७ परिक्षार्थी सहभागि हुने कार्यालयले जनाएको छ ।

पश्चिमाञ्चलमा सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङमा ८८ र सबैभन्दा बढी रुपन्देहीमा १४ हजार ५ सय ८ परिक्षार्थी रहेका छन् । परिक्षार्थी संख्या कम भएकाले मनाङ र मुस्ताङमा एउटा मात्रै परिक्षा केन्द्र निर्धारण गरिएको छ । यस क्षेत्रमा सबैभन्दा बढी परिक्षार्थी रहेको रुपन्देहीमा ५१ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

कास्कीमा अघिल्लो बर्षको भन्दा २ वटा केन्द्र थप गरी २९ परिक्षाकेन्द्र निर्धारण गरिएको छ । पोखराको अमरसिंह उच्च माबिमा यसअघि रहेको एउटा मात्र केन्द्रलाई ‘क’ र ‘ ख ’ गरी दुई वटा बनाईएको छ भने यसअघि नरहेको सितलदेवि सामुदायिक बिद्यालय माटेपानीमा अर्को केन्द्र थपिएको जिल्ला शिक्षा कार्यालय कास्कीका परिक्षा शाखा प्रमुख खेम पौडेलले जानकारी दिए ।

कास्कीमा यो बर्ष १० हजार ६ सय २९ परिक्षार्थी सहभागि हुदैछन् । नियमित तर्फ छात्र ४ हजार ८ सय २ र छात्रा ४ हजार ६ सय ८४ गरी ९ हजार ४ सय ८६ तथा एक्जाम्टेड तर्फ छात्र ४ सय र छात्रा ८ सय २० गरी एक हजार २ सय २० परिक्षार्थी सहभागि हुने भनिएपनि नियमित तर्फ ७५ प्रतिशत हाजिरी नपुगेका ७७ बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् ।

यसैबिच कास्कीमा यस बर्ष अपांगता भएका ४३ बिद्यार्थीले एसएलसी परिक्षा दिदैछन् । जिल्ला शिक्षा कार्यालय कास्कीका अनुसार पोखराको अमरसिंह उच्च माबिका १० तथा जनप्रकाश उच्च माबि लेखनाथबाट २ गरी १२ दुष्टीबिहिन बिद्यार्थी सहभागि हुदैछन् । त्यस्तै सिर्जना बहिरा उच्च माबिबाट २९ र जनप्रकाश उच्च माबिबाट २ गरी ३१ सुस्त श्रबण परिक्षार्थी सहभागि हुने पौडेलले बताए ।

यसैबिच सुरक्षाको लागि ३ सय भन्दा बढी प्रहरी परिचालित हुने भएका छन् । प्रत्येक परिक्षा केन्द्रमा १० जना र संबेदनशिलताको आधारमा प्रहरी तैनाथी बढाईने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक बसन्त कुमार लामाले जानकारी दिए ।