१० चैत,काठमाडौ । राष्ट्रिय नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित आइतबार भेट गरेका छन् । भेटमा प्रचण्डले अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा नेपालको नाम चिनाउन प्रमुख भूमिका निर्वाह गरेको भन्दै प्रशिक्षक दासानायकेलाई बधाई दिएका छन् ।

 

‘तपाईंले नेपालको क्रिकेट विकास तथा अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा हाम्रो नाम उच्च पार्नुभएको छ, यसका लागि धेरै धन्यवाद छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले  भने । प्रचण्डले नेपाली राष्ट्रिय टोलीको टिम स्पिरिट माथिल्लो लेबलमा पुर्‍याएकोमा प्रशिक्षक दासानायकेको प्रशंसासमेत गरे । उनको भनाइ उद्धृत गर्दै खड्काले भने, ‘तपाईंको नेतृत्वमा नेपाली टोलीको टिम स्पिरिट माथिल्लो लेबलमा पुगेको छ, हामीले नेपाली क्रिकेटबाट योभन्दा बढी आशा गरेका छौँ ।’

 

भेटमा प्रशिक्षक दासानायकेले नेपालमा क्रिकेट विकास, आफ्नो सम्झौता नवीकरण र खेलाडीको सुविधाबारे छलफल गरेका थिए । प्रचण्डले मुलुकको क्रिकेट विकासमा आफूले सक्दो सहयोग गर्ने बताएको भेटमा सहभागी क्यानका सदस्य सञ्जीव पाण्डेले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय रंगशाला निर्माण, क्रिकेट विकासलगायतका विषयमा छलफल भयो,’ पाण्डेले भने ।pubdu dassanayake

 

नेपालमा कम्तीमा पाँच–सातवटा अन्तर्राष्ट्रिय रंगशाला हुनुपर्ने र खेलाडीलाई सुविधा दिनुपर्नेमा दासानायकेले जोड दिएको खड्काले जानकारी दिए । ‘प्रशिक्षक दासानायकेले अध्यक्षज्यूसँग खेलाडीको सुविधाबारे कुरा राख्नुभएको थियो,’ स्वकीय सचिव खड्काले भने, ‘सम्बन्धित निकायले खेलाडीको सेवा र सुविधा बढाइँदा खेलाडीहरूको स्तर पनि बढ्नेछ ।’

 

भेटमा दासानायकेले क्यानसँगको चारवर्षे सम्झौता सकिन लागेको भन्दै नवीकरण हुने–नहुनेमा आफू अन्योलमा रहेको पनि बताएका थिए । ‘नेपालमा मेरो अवधि सकिँदै छ, करार थपिने हो वा होइन, म अन्योलमा छु, अहिलेसम्म केही जानकारी छैन,’ दासानायकेको भनाइ उद्धृत गर्दै खड्काले भने, ‘नेपाललाई म चाहिएको भए, यहाँ बस्न चाहन्छु यदि चाहिएन भने म फर्किनेछु ।’

 

प्रचण्डले आफूले सम्झौताका विषयबारे सम्बन्धित निकायसँग छलफल गर्ने बताएको खड्काले जानकारी दिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण दिन दासानायके ११ सेप्टेम्बर ०११ मा नेपाल आएका थिए । तत्कालीन क्यानका अध्यक्ष विनयराज पाण्डेले श्रीलंकाली प्रशिक्षक रोय लुक डायसको सम्झौता नवीकरण नगरी दासानायकेलाई नयाँ प्रशिक्षकका रूपमा भित्र्याएका थिए ।

 

लाजिम्पाटस्थित प्रचण्डनिवासमा भएको भेटवार्तामा प्रशिक्षक दासानायकेसँगै क्यान अध्यक्ष टंक आङबुहाङ र सदस्य पाण्डे पनि सहभागी थिए । पाण्डेले केही दिनभित्रै दासानायकेको सम्झौता नवीकरण हुने जानकारी दिए । ‘हामी छिटै प्रशिक्षक दासानायकेको सम्झौता नवीकरण गर्ने तयारीमा छौँ,’ पाण्डेले नयाँ पत्रिकालाई भने, ‘उनको सम्झौता लम्ब्याउने पक्षमा कसैले पनि विवाद गरेका छैनन् ।’

 

दासानायके मंगलबार परिवारलाई भेट्न क्यानडा जाँदै छन् । उनी क्यानडा फर्किनुअघि नै सम्झौता नवीकरण हुने क्यानको भनाइ छ भन्ने खबर नयाँ पत्रिकाले छापेको छ।