२४ बैशाख, काठमाडौ ।

बच्चा जन्माउन नेपाल सुरक्षित देशका रूपमा गणना हुँदै गएको छ। १३ वर्षअघि एक लाख जीवित बच्चा जन्माउँदा पाँच सय ३९ जना आमाको मृत्यु हुने गरेकोमा अहिले एक सय ७० जनाको मात्र मृत्यु हुन्छ। यही कारण नेपाल आमा बन्न सुरक्षित देशका रूपमा विश्वका एक सय ७८ देशमध्ये एक सय १६ औं देशमा उक्लिएको छ।

 

सेभ द चिल्ड्रेनले मंगलबार सार्वजनिक गरेको ‘विश्वभरका आमाहरूको अवस्था’ नामक प्रतिवेदनअनुसार सन् २००१ मा नेपाल आमा बन्न सुरक्षित देशको सूचीमा एक सय ७० औं स्थानमा थियो। अहिले त्यसबाट ५४ औं स्थान माथि उक्लेर दक्षिण एसियामा भुटानभन्दा माथि छ। यस्तो सूचीमा नेपाल गत वर्षभन्दा पाँच स्थान माथि उक्लिएको छ।

mother-and-baby

सशस्त्र द्वन्द्व सकिएपछि आमा तथा बाल मृत्युदरमा उल्लेख्य कमी ल्याउँदै नेपाल निरन्तर सफलताको सूचीमा अघि बढेको विज्ञले बताए। सरकारले निरन्तर चलाएको आमा सुरक्षा कार्यक्रम, दातृ निकायको सहयोग, दुर्गम क्षेत्रमा स्वास्थ स्वयंसेविकाले पुर्‍याएको सेवालगायतका कारण नेपालमा मातृ मृत्युदर घटेको स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले बताए।

 

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा. किरण रेग्मीले यो दक्षिणपूर्वी एसियाली मुलुककै लागि महत्त्वपूर्ण उपलब्धि भएको बताइन्। नेपालले मातृ मृत्युदर घटाउन सफल भएको भन्दै अन्तर्राष्ट्रिय अवार्डसमेत पाएको छ। आगामी एक वर्षमा सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नेपालले मातृ मृत्युदर एक सय ३४ मा झार्नुपर्ने चुनौती भने बाँकी छ।

 

नेपालस्थित सेभ द चिल्डे्रनका राष्ट्रिय निर्देशक डेबिट राइटले भने, ‘यो राजनीतिक इच्छाशक्ति, आमा र बालबालिकाका लागि स्वास्थ्य सेवामा लगानी गर्ने तत्परताको नतिजा हो।’ नेपालका लागि रोकथाम गर्न सकिने बाल तथा माृतमृत्यु दरमा कमी ल्याउन र गरिब समुदायलाई स्वास्थ्य सेवा पुर्‍याउन चुनौती बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। अझै पनि रोकथाम गर्न सकिने रोगबाट २४ जनामा एक नवजात शिशुको मृत्यु हुने गरेको अन्नपूर्ण पोस्टले छापेको छ।

 

अध्ययनअनुसार विश्वमा हरेक दिन आठ सय आमा र १८ हजार शिशुको मृत्यु हुने गरेको छ। यस्तो मृत्युदर सबैभन्दा बढी सोमालियामा छ। एक तिहाइ मृत्यु पश्चिम तथा मध्य अफ्रिकामा र एक तिहाइ मृत्यु दक्षिण एसियामा हुने गरेको प्रतिवेदनमा उल्लेख छ। आमा तथा शिशुका लागि सर्वोत्तम भने फिनल्यान्ड, नर्वे, स्विडेन, आइसल्यान्ड र नेदरल्यान्ड्स छन्।