८ असार, काठमाडौ ।

नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत नेकपा माओवादीलाई संविधानसभाबाट बाहिर्याउन कार्यगत एकता गरेको खुलासा गरेका छन । राजधानीमा आईतवार आयोजित साक्षात्कारमा उनले अहिलेको संविधानसभाबाट जनमुखि संविधान आउनै नसक्ने भएकोले त्यसमा रहनुको कुनै अर्थ नरहेको दावी गर्दै एमाओवादी संविधानसभाबाट बाहिरिएपछि मात्रै पार्टी एकता सम्भव हुने जिकिर गरे ।

CP Gajurel at Reporters Club
गजुरेलले नेपाली काग्रेस र नेकपा एमालेले कुनै पनि हालतमा यहि संविधानसभाबाट संविधान जारी गर्ने दावी गर्दै एमाओवादी संविधानसभामा बस्नुको औचित्य नरहेको बताए ।

उनले अहिले केही एजेण्डालाई लिएर एमाओवादीसहित पाँच माओ विचारधारा बोकेका दलहरुवीच कार्यगत एकता भएको स्पष्ट पार्दै एमाओवादीले आफूहरुले अघि सारेको ६ बुँदे प्रस्तावलाई पूर्ण रुपमा आत्मसाथ नगरेसम्म पार्टी एकीकरण सम्भव नहुने स्पष्ट पारे । उनले भने–यो पार्टी एकताको लागि गरिएको कार्यगत एकता होईन, अहिलेकै अवस्थामा पार्टी एकता सम्भव छैन । गजुरेलले कार्यगत एकता भएपछि त्यसको संयोजक चक्रिय प्रणालीमा हुने जानकारी दिँदै जसको पार्टी कार्यालयमा बैठक बस्छ उ नै त्यसवेलाको संयोजक हुने गरी ब्यवस्था मिलाईएको बताए ।

जन–जीविकाको सवाल र जनशक्ति बर्हिगमनको अवस्था भयावह भए पनि अर्थमन्त्रीले रेमिट्यान्स आएको भन्दै नाक फुलाउनु लाजमर्दो भएको भन्दै यसको समाधानको लागि आन्दोलनको आवश्यकतामा जोड दिए । दैनिक विदेशिन बाध्य भएका युवाहरुको पंक्तिले नेपालको कृषि अर्थतन्त्रको अस्तित्व नै खतरामा पर्ने समेत गजुरेलले औल्याएका छन् । जनताको सहभागिता नभएको उपनिर्वाचनको कुनै सान्र्दभिकता नभएको दावी गर्दै गजुरलले देशको पैसा त्यसै वर्वाद हुने उपनिर्वाचन नहुनेगरि कुनै पनि नेतालाई दुई ठाँउबाट उठ्न नदिने ब्यवस्था गर्नु पर्नेमा जोड दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषयमा आफूहरुलाई कुनै चासो नभएको भन्दै छिमेकी देशको प्रधानमन्त्रीको भ्रमणलाई लिएर आफूहरुको आपत्ति नरहेको उनले स्पष्ट पारे । यद्यपि उनले पश्चिम सेती, कर्णाली जस्ता ठूला नदिमा चासो दिनुले भने चिन्ता बढाएको बताए । उनले नेपालका लागि भारतीय राजदुत रञ्जित रेले सुस्ता र महाकाली बाहेक सबै सीमा विवाद मिलेकोले हस्ताक्षर गर्न गरेको आग्रहलाई खतरनाक योजनाको संज्ञा समेत दिए ।