७ भदौ, काठमाडौँ ।
सैनिक अस्पतालले सर्बसाधारणहरुलाई सेवा दिने भएको छ ।

nepali sena

करिब ४२ वर्ष पछि नेपाली सेनाले सर्वसाधारण जनताका लागि अस्पताल खुला गर्न लागेको हो । हाल बहालवाला सैनिक र तिनका आश्रित परिवार (बुबा, आमा, श्रीमती र दुई सन्तान)लाई मात्र अस्पतालले निःशुल्क सेवा दिँदै आएको थियो । यसका साथै दैवीप्रकोपका समय र दुर्गम क्षेत्रमा सञ्चालित घुम्ती स्वास्थ्य शिविरमा मात्र सर्वसाधारण जनताले सेनाका चिकित्सकीय सेवा पाउँदै आएका थिए । नेपाली सेना स्वास्थ्य विज्ञान अध्ययन संस्थानले सर्वसाधारण जनता र भूतपूर्व सैनिक (भेट्रान)का लागि महाँकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताललाई जीर्णाेद्धार तथा थप नयाँ भवन निर्माण गरी आगामी दुई वर्षभित्रमा सर्वसाधारणलाई सेवा दिने भएको हो । पहिलो विश्वयुद्धमा भाग लिएका वीर नेपाली सिपाहीका सम्झनामा विसं १९८२ मा त्रिचन्द्र मिलिटरी अस्पताल स्थापना भएको थियो । सो अस्पतालले तत्कालीन समयमा पहिलोपटक फाइबर अप्टिक इन्डोस्कोपी उपकरणलाई समेत भित्र्याएको थियो । विसं २०४६ पछि सो अस्पताल छाउनीमा स्थानान्तरण गरी वीरेन्द्र अस्पतालका रुपमा सञ्चालित छ । हाल सो अस्पतालको शय्या क्षमता ६०१ रहेको छ भने आगामी मङ्सिर महिनाबाट १५० थप हुँदैछ ।

महाँकालमा स्थापना हुने अस्पतालको शय्या क्षमता ४६९ को हुनेछ । अस्पतालमा आधुनिक चिकित्सा विज्ञानका सबै सेवा र उपकरण सस्तो र गुणस्तरीय रुपमा उपलब्ध हुनेछ, वीरेन्द्र अस्पतालका निर्देशक सहायक रथी प्रा डा किशोर जबराले जानकारी दिए  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालबाट बर्सेनि उपचारका लागिमात्र करिब रु एक अर्बभन्दा बढी विदेशिने गरेको छ । मुटु, मिर्गाैला, क्यान्सर, नसाजस्ता अति महँगो रोगको थप उपचारका लागि अझै विदेश जानुपर्ने बाध्यता रहेको छ । हाल मेडिसियनअन्तर्गत एमबिबिएस तहको तेस्रो वर्षमा विद्यार्थी अध्ययनरत छन् । संस्थानले १५० सिटको अनुमति पाए पनि हाल १०० सिटमामात्र संस्थानले अध्यापन गराइरहेको छ । अर्का वर्ष संस्थानले पूरै क्षमतामा सो तहमा कक्ष सञ्चालन गर्ने योजनामा छ ।

यसका साथै संस्थानले पोष्ट ग्र्याजुएट विषयमा पनि अध्यापन गराउने तयारी गरिरहेको संस्थानका सहकार्यकारी निर्देशक प्रा डा भैरव हमालले जानकारी दिए । गरिब जनताका जेहेन्दार छोराछोरीलाई चिकित्सक बनाउने र गरिब जनतालाई स्वास्थ्य सेवा दिने कल्याणकारी योजनाको उद्देश्य रहेको सहायक रथी कार्कीले बताए । रासस