TENSION-MOOD

जीवनमा सधैँ खुसीले भरिएको हुँदैन । कहिलेकाहीँ चारैतिरबाट उदासीले घेर्छ । यसले काम टार्ने, अनिर्णयको भावना आउने र केही पनि गर्न मन नलाग्नेजस्ता नकारात्मक स्वभाव विकास हुन सक्छ ।

वरिपरिका सबै घटनाले दिक्कमात्रै लगाउँछ । यस्तो वेला केही उपाय अपनाउन सकिन्छ, जसले उदासीलाई टाढा हटाउन मद्दत गर्छ :

 

डायरी लेख्ने
खाली समयमा दिक्क मानेर बस्नुको सट्टा डायरी लेख्नुहोस् । यसले एउटा विषयमा मन केन्द्रित र व्यस्त हुन्छ । मनमा रहेको गह्रौँपना कम हुँदै जान्छ । समय पनि सहजै व्यतीत हुन्छ । यसले दु:खलाई पनि टाढा भगाउँछ । यसको अर्को फाइदा भनेको सिर्जनशीलता पनि बढ्छ र आफ्नो भावनालाई प्रकाशन गर्न पनि सघाउँछ ।
 
नृत्य कक्षा भर्ना हुने
नृत्य राम्रो शारीरिक कसरत हो । यसले शरीरमा स्फूर्ति पैदा गर्छ । त्यसले तनाव घटाउन सहयोग पुर्‍याउँछ । आफ्ना साथी वा परिवारका सदस्यसँग संगीतका साथ रमाउनका लागि प्रशस्त आत्मविश्वास र वातावरण पनि यसले पैदा गर्छ । नृत्यले शरीरलाई फिट राख्न पनि मद्दत गर्छ ।

 

पुस्तक पढ्ने
उदासीका बेला पुस्तक एकदमै भरपर्दो साथी हुन्छ । यस्तो वेला आफूलाई मन पर्ने लेखक र विधा छनोट गर्नुहोस् । यसले एकातिर ज्ञानको वृद्धि गर्छ भने तनावबाट टाढा रहन मद्दत पनि गर्छ ।

 

खाना बनाउने
भान्छामा पसेर आफूलाई मन पर्ने परिकार बनाउँदा पनि तपाईँलाई आराम महसुस हुन सक्छ । त्यस्तै तपार्इँले नयाँ खानाको परिकार बनाउने प्रयास गर्नुहोस् । यसले तपाईँलाई खाना पकाउने सीप विकास गर्न पनि मद्दत गर्छ भने फ्रेस हुन पनि सघाउँछ ।

 

बिहान–बेलुका हिँड्ने
बिहान–बेलुका हिँड्नु स्वास्थ्यका लागि त फाइदाजनक छ नै, मानसिक दृष्टिकोणले पनि लाभदायक हुन्छ । बिहान र बेलुका दिउँसोको तुलनामा हावा स्वच्छ हुन्छ । यसले रक्तसञ्चार सही ढंगले हुन्छ र तनाव पनि कम हुन्छ ।

 

संगीत सुन्ने
संगीत मनको उपचारका लागि प्रभावकारी माध्यममध्ये एक हो । यसले मनमा सकारात्मक विचार पैदा गर्न मद्दत गर्छ । त्यसैले उदासीका वेला मन पर्ने गीत वा संगीत सुन्नुहोस् । गाउन मन लाग्छ भने गाउनुहोस् । यसले तपाईँको मनमा नयाँ विचार पैदा गर्न पनि सहयोग पुर्‍याउँछ ।