२० असोज, म्याग्दी ।

 

प्राकृतिक, जैविक, धार्मिक र ऐतिहासिक सम्पदामा धनी रहेको मुस्ताङ जिल्लामा रहेका सयौँ वर्ष पुराना गुम्बाहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।

 

कतिपय गुम्बा विश्वमै पुरानो मानिएको भएपनि मर्मतसम्भारको अभावमा भग्नावशेषमा परिणत हुँदैछन् । विश्वमै पुरानो भनी दाबी गरिएको उपल्लो मुस्ताङको चराङ गाविस–१ स्थि

gumba

त मराङ गाउँको लो घ्याकर गुम्बा अत्यन्त जीर्ण बन्दै गएको छ । तिब्वतका राजा ढिक्सुङ थुक्चेनले आठौँ शताब्दीमा बनाएको गुम्बा तथा आसपासमा रहेका छोदेनहरुको संरक्षणका लागि जिल्ला तथा केन्द्रबाट आवश्यक बजेटको व्यवस्था नहुँदा विभिन्न भाग चर्किएको छ । बर्सेनि हजारौँ पर्यटक अवलोकन गर्ने आउने गरेको भए पनि संरक्षणमा हुन नसकेको चराङ आमा समूहकी अध्यक्ष माया विष्टले बताए । ‘‘विश्वमै यसको महत्व छ’’ उनले भने, “मर्मतसम्भारका लागि पटकपटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता भइरहेको छ ।’’

 

तिब्बतमा रहेको विश्वकै पुरानो साम्बे गुम्बा निर्माणको क्रममा पटकपटक भत्किएपछि गुरु पद्म सम्बाको सल्लाहअनुसार पहिला लो घ्याकर गुम्बा बनाइएकाले पनि यो विश्वकै पुरानो गुम्बा भएको गुम्बामा राखिएको अभिलेखबाट थाह हुन्छ । गुम्बाको पछिल्लो भाग भत्किन थालेकाले नेपालका साथै भारतका विभिन्न क्षेत्रमा आर्थिक सङ्कलन गर्ने अभियान सुरु गरिएको छ । करिब पाँच रोपनी जग्गामा फैलिएको गुम्बामा २६ वटा कोठा र आसपासमा १०६ छोदेन रहेका छन् । यस गुम्बाबाट अहिलेसम्म करिब १०० लामा बनिसकेका छन् भने अहिले १३ जनाले गुम्बामै बसेर लामा शिक्षा पढिरहेका छन् ।  यहाँ लामा शिक्षा पढ्न तिब्वतबाट समेत आउने गरेका छन् । मुख्य गुम्बा आसपासमा रहेका सानो आकारका छोदेनमध्ये केही भत्किने अवस्थामा पुगेको स्थानीय समाजसेवी ठिन्डुक गुरुङले बताए ।

 

गुम्बामा प्राचीनकालमा ढुङ्गाबाट निर्मित २१ तारा बुद्ध, आठ आम्ची बुद्ध र ७५ वटा बुद्ध रहेका छन् । गुम्बामा रहेका विद्यार्थी तथा लामा शिक्षकलाई भारतका साधुभाइ लामाले नियमित सहयोग पठाउने गरेको गुम्बा संरक्षण समितिले जनाएको छ । चराङ गाविसको विकटमा रहेका गुम्बा संरक्षणमा चराङ गाविस, स्थानीयवासीका साथै विदेशमा रहेका बौद्ध धर्मावलम्बीले आर्थिक सहयोग गर्ने गरेका छन् । लोमान्थाङ गाविसको सीमा क्षेत्रमा पर्ने चराङलाई तिब्वतमा रहेका बौद्ध धर्मावलम्बीले आस्थाको केन्द्रका रुपमा समेत लिने गरेका छन् ।