५ असार, काठमाडौं ।

निर्वाचन आयोगले चुनावको अवधिमा संयमता अप्नाउन राजनीतिक दल र उम्मेदवारहरुसँग आग्रह गरेको छ । आयोगले आज विज्ञप्ती निकालेर दोस्रो चरणको निर्वाचनको प्रचार प्रसारलगायतका निर्वाचन कार्यक्रमहरुमा संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको हो ।

आयोगले शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न समेत सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र नागरिक समाजका व्यक्तित्वहरुसँग अपिल गरेको छ । त्यस्तै आयोगले प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन सरकारसँग पनि आग्रह गरेको छ ।

हिजो उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा दलका कार्यकर्ता बीच झडप हुँदा एक जनाको मृत्यु भएपछि आयोगले यस्तो आग्रह गरेको हो ।

झडपको क्रममा हिजो स्थानीय ५० वर्षिय हंसबहादुर राउत गम्भीर घाइते भई उपचारका लागि बाजुराको मार्तडीतर्फ लैजाने क्रममा निधन भएको थियो । उक्ता घटना प्रति आयोगले दुःख व्यक्त गरेको छ ।

साथै आयोगले घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । यसैगरी, उम्मेदवारी दर्ताकै क्रममा असार ४ गते कपिलवस्तुको बाडगंगा नगरपालिका वडा नं. ४ भित्री हुलाकी सडक खण्डमा अचानक बम विष्फोट हुँदा १० जना घाइते भएको घटनाप्रति पनि आयोगले दुःख व्यक्त गरेको छ ।