९ असार, काठमाडौं ।

प्रधानमन्त्री देउवा ६ दिन सुदूरपश्चिममा 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनका लागि शुक्रबारबाट सुदूरपश्चिमको भ्रमणमा जाँदै छन् । उनी ६ दिन त्यहाँ बस्नेछन् ।

देउवाको शुक्रबार कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बिहान ९ बजे धनगढी क्याम्पस चोकमा कोणसभा र त्यसपछि फूलबारी डिपोबजारमा चुनावी सभामा सहभागी भएपछि देउवा दिउँसो १२ बजे कञ्चनपुर लाग्नेछन् ।

कञ्चनपुरमा उनले शुक्रबार र शनिबार चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि उनी डडेल्धुराको जोगबुढामा राखिएको कार्यक्रममा सहभागी हुनेछन् । ११ असारमा देउवाले डडेल्धुरा सदरमुकामको कार्यक्रमलाई सम्बोधन गर्ने उनका स्वकीय सचिव भानु देउवाले बताए । १३ असारसम्म उनी त्यहीँ बस्नेछन् । १४ असारमा भोट हालेपछि उनी काठमाडौं फर्किनेछन् ।

प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम उमाविमा भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

कांग्रेस महामन्त्री कोइराला अमेरिकातिर
दोस्रो चरणको निर्वाचनकै वेला कांग्रेस महामन्त्री डा. शशांक कोइराला भने अमेरिका पुगेका छन् । अमेरिकाको हवाई राज्यमा पढिरहेकी छोरी विश्वविद्यालयमा दीक्षित हुने कार्यक्रम रहेकाले उनी मंगलबार पत्नीसहित अमेरिका पुगेका हुन् । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार ११ दिन बसेर उनी नेपाल फर्किनेछन् ।

ओली पश्चिममा भैरहवासम्म पुग्ने

एमाले अध्यक्ष केपी ओलीले गृहजिल्ला झापाबाट बिहीबार फर्किएका छन् । बिहीबार उनले मेचीनगर, भद्रपुर, गौरादह र कमल गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गरे । उनले १० असारमा विराटनगर र इटहरी तथा ११ गते भैरहवा र नवलपरासीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले सम्बोधन गरे झापाका दर्जन चुनावी सभा

गृहजिल्ला झापामा चार दिन बस्दा ओलीले एक दर्जनभन्दा बढी चुनावी सभालाई सम्बोधन गरेर बिहीबार काठमाडौं फर्किएका छन् । ५ असारमा सुरुंगा गाउँपालिकाको सभालाई सम्बोधन गरेका ओलीले बिहीबार काठमाडौं फर्किनुअघि गौरादह नगरपालिकाको सभालाई सम्बोधन गरेका थिए ।

प्रचण्डद्वारा एकै दिन सात सभालाई सम्बोधन

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मात्रै बाँके, बर्दिया र कैलालीका सातभन्दा बढी चुनावी सभालाई सम्बोधन गरेका छन् । प्रचण्डको शुक्रबार दिनभरको कार्यक्रम पनि एकदमै ‘टाइट’ रहेको उनको सचिवालयले जनाएको छ ।

बिहीबार राति प्रदेश नम्बर ७ का इन्चार्ज लेखराज भट्टको निवासमा बसेका प्रचण्डले शुक्रबार दिनभर आधा दर्जनभन्दा बढी चुनावी सभामा सहभागिता जनाउने कार्यक्रम तय भएको उनका स्वकीय सचिव प्रकाश दाहालले बताए । ‘आधा दर्जनभन्दा बढी चुनावी कार्यक्रम छन्,’ उनले नयाँ पत्रिकासँग भने ।

पौडेल तीन जिल्लामा

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि बिहीबार रुपन्देही पुगेका छन् । नेता पौडेलको शुक्रबार कपिलवस्तुमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । १० असारमा पौडेलले नवलपरासीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल तीन दिन दौडाहमा
एमाले नेता माधव नेपाल शुक्रबारबाट देश दौडाहमा निस्कँदै छन् । शुक्रबार उदयपुरका चुनावी सभालाई सम्बोधन गर्नुका साथै कार्यकर्ता भेटघाटमा सहभागी हुने उनी तीन दिन चुनावी कार्यक्रममा व्यस्त हुनेछन् । स्वकीय सचिव नितेश पौडेलका अनुसार नेपालले शनिबार कञ्चनपुर र डडेल्धुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । आइतबार उनले धरान र विराटनगरका सभालाई सम्बोधन गर्नेछन् ।

राप्रपा अध्यक्ष कमल थापा पनि देश दौडाहामा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि दोस्रो चरणको स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि देश दौडाहामा छन् । उनी बुधबारबाट देश दौडाहमा लागेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार थापा बिहीबार उदयपुरमा आयोजित चुनावी कार्यक्रममा सहभागी भए । ११ असारसम्म थापाले दाङ, बाँके, कैलाली, डडेल्धुरा र बैतडीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ‘तर, कहाँ कहिले जाने भन्ने मिति तय भइसकेको छैन,’ सहप्रवक्ता श्रेष्ठले बताए ।