३२ साउन, काठमाडौं ।
संविधान संशोधन प्रस्तावमाथि आजबाट संसद्मा छलफल सुरु हुने भएको छ । प्रमुख प्रतिपक्षी एमालेको विरोधको बाबजुद पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत २९ चैतमा संसद्मा दर्ता गरेको प्रस्तावमाथि छलफल हुन लागेको हो । एमालेको विरोधका बीच संसद्मा प्रस्तुत विधेयकमाथि ५० वटा संशोधन प्रस्ताव परेका छन् । संशोधनकर्ताले संसद्मा बोल्नेक्रम केही दिन चल्ने र आगामी ४ भदौमा संसद्बाट विधेयक टुंगो लगाउने गरी आफूहरूले सहमति जनाएको राजपा महामन्त्री केशव झाले बताए ।

प्रचण्ड नेतृत्वको सरकारले सीमांकन हेरफेरसहित गत मंसिरमा दर्ता गरेको संविधान संशोधन विधेयकको एमालेसहित कांग्रेस, माओवादी केन्द्रकै कतिपय सांसदले विरोध गरेपछि सो प्रस्ताव फिर्ता भएको थियो । प्रस्ताव फिर्ता भएकै दिन अर्थात् २९ चैतमा सरकारले पुनः संविधान संशोधनको नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । सो विधेयकमा प्रदेशको संख्या र सीमांकन हेरफेरसम्बन्धी विषयमा संघीय आयोगमार्फत टुंगो लगाउने, आयोगको कार्यादेश र कार्यविधि सरकारले निर्धारण गरेबमोजिम हुने उल्लेख छ । साथै, विधेयकमा भाषा, नागरिकता, प्रदेशसभाको निर्वाचन सम्बन्धमा संशोधनको प्रस्ताव गरिएको छ । तर, एमालेले भने संशोधन प्रस्तावको विरोध गर्दै आएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रस्तावको पक्षमा दुईतिहाइ पुर्‍याउन कसरत
संविधान संशोधन प्रस्ताव पास वा फेल जे भए पनि संसद्बाट टुंगो लगाउन राजपा सहमत भएपछि सरकारले प्रस्ताव अघि बढाउन लागेको हो । आफूहरू संसदीय प्रक्रियामार्फत अघि बढ्न विधेयक पास वा फेल जे भए पनि आगामी निर्वाचनमा सहभागी हुन तयार रहेको राजपा महामन्त्री केशव झाले बताए । ‘हामी लोकतान्त्रिक विधिअनुसार अघि बढ्न तयार छौँ । यसमा एमालेले समेत साथ दिनेछ भन्ने विश्वास लिएका छौँ । सरकारलाई हामीले संशोधन प्रस्ताव संसद्मा लैजान भनेकाले बुधबारको बैठकको कार्यसूचीमा यसले प्रवेश पाउनेछ,’ उनले भने ।

सत्तारुढ कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान संशोधन विधेयकमाथि सदनमा छलफल सुरु भए पनि टुंगो लाग्न केही दिन लाग्ने बताए । सरकार संशोधनको पक्षमा दुईतिहाइ पुर्‍याउन जुटिरहेको भन्दै श्रेष्ठले संशोधनकर्ताले सदनमा बोलिसक्दासम्म सरकारले दुईतिहाइ पुर्‍याउने विश्वास व्यक्त गरे ।

सत्ता पक्षलाई राप्रपाको आश
सत्तारुढ दलले राप्रपालाई संशोधनको पक्षमा ल्याउन छलफल अघि बढाएको छ । संशोधन प्रस्ताव ल्याउन राप्रपा अध्यक्ष कमल थापाको भूमिका महत्वपूर्ण रहेको र उनकै समर्थनमा आएकाले १७ सिटको राप्रपा संशोधनको पक्षमा सहभागी हुने राजपा नेता केशव झाले बताए । कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठका अनुसार सत्तारुढ दलले राप्रपालाई संविधान संशोधनको पक्षमा मत हाल्न छलफल गरिरहेका छन् । संविधान संशोधनको पक्षमा राप्रपा उभिए पनि सत्तापक्षसँग जम्मा मतसंख्या ३८८ पुग्छ । त्यसो हुँदा पनि दुईतिहाइका लागि थप आठ मत आवश्यक पर्छ ।