bhai-tika2१९ कार्तिक,काठमाडौ। । यमपञ्चकको अन्तिम दिन आज सबै नेपालीका घरघरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर हर्षोल्लासरूपमा भाइटीका मनाउँदैछन् ।

तिहारको अन्तिम दिन अर्थात भाइटीकालाई समस्त नेपालीले महत्वपूर्ण दिनका रूपमा लिने गर्छन् ।

आजका दिन स्वदेश तथा विदेशमा रहेका दाजुभाइहरू दिदीबहिनाका घरमा र दिदीबहिनीहरू दाजुभाइका घरमा जम्मा भई टीका लगाउने गर्दछन् ।

आजका दिन भाइटीकाको साइत खोज्नेहरूका लागि ११ बजेर २७ मिनेटको समय उत्तम रहेको भए पनि दिनभर नै भाइटीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।

भाइटीकालाई दिदी भाइ तथा दाजु बहिनीको प्रगाढ सम्बन्धको प्रतिकको रूपमा लिने गरिन्छ । आजका दिन दिदीबहिनीले टीका लगाउनुअघि दाजुभाइको कानमा तेल हालिदिन्छन् र सप्तरङ्गी टीकाको साथै दुबो, मखमली, सयपत्री तथा गोदावारीको माला लगाइदिन्छन् ।

टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई मीठाइ तथा मसला खान दिन्छन् भने दाजुभाइले दिदीबहिनीलाई विभिन्न बस्त्र, आभूषण तथा दक्षिणा दिने गर्छन् ।

आजका दिन सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने प्रचलन छ ।

भाइटीकाको दिन अर्थात कात्तिक शुक्ल द्वित्तीयामा आफ्नो भाइलाई स्वर्गबाट धर्मराजका यमदूत लिन आएको र यमदूतलाई दिदीले अनेक बहाना बनाई भाइको काल टारेको प्रसङ्ग पनि गाँसिएको छ । रासस