५ साउन, एजेन्सी । इराकको एक मस्जिदमा प्रार्थनाका क्रममा शुक्रबार गरिएको बम हमलामा परी २० जनाको ज्यान गएको छ भने ५४ जना घाइते भएका छन् ।

इराकको पूर्वी प्रान्त दियालामा रहेको सुन्नी मुसलमान समुदायका नागरिकको मस्जिदमा भएको हमलामा घाइते भएकामध्ये २५ जनाको अवस्था गम्भिर रहेको छ । पछील्लो समय इराकमा बम हमलाका घटनाहरू बढ्दै गएका छन् भने राजधानी बग्दादलगायतका विभिन्न सहरमा यस्ता आक्रमण जारी रहेको छ ।

राजधानीमा रहेको सुन्नी मस्जिदमा तीन दिनअघि मात्र पनि बम आक्रमण भएको थियो । इराकमा यसैहप्ता भएका बम हमलालगायतका विभिन्न हिंसात्मक आक्रमणहरूबाट कम्तीमा पनि १५० व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई सयभन्दा बढी घाइते भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

मुस्लिम समुदायको रमाजान पर्व चलिरहेका बेला इराकका विभिन्न क्षेत्रमा यस्ता बम हमलाहरू जारी नै रहेको छ । इराकमा सुन्नी र सिया मुसलमानका बीचमा विगत लामो समयदेखि आक्रमण र हत्याका शृङ्खलाहरू जारी नै रहका छन् र त्यस्ता आक्रमणहरू प्राय शुक्रबार हुने गरेका छन् ।