uml flag२८ बैशाख, काठमाडौ । ढुलमुले, द्वैध चरित्र भएको, अवसरवादी र लिङ्ग नभएको भनेर आरोप खेपेको नेकपा एमालेले विभिन्न दललाई पनि विभिन्न आरोप लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी एमालेले अन्यदललाई हेर्ने दृष्टिकोण सार्वनाजिक गरेको हो ।

एकीकृत माओवादी हिजोको उग्रवामपन्थी अतिवादवाट दक्षिणपन्थी अवसरवादतिर उन्मुख हुदै गएको एमालेले विश्लेषण गरेको छ । उग्रभारतविरोधी राष्ट्रवादबाट आत्मसमर्पणवादतिर, वर्गीयताबाट जातीयतातिर र सत्ताका लागि जस्तोसुकै शक्तिसँग हात मिलाउने अवसरवादी चरित्र माओवादीमा हावी भएको एमालेको आरोप छ ।

यसैगरी बहुराष्ट्रिय राष्ट्रियता, देशमा अर्ध औपनिवेसिक उत्पीडन समाप्त भएको तर मधेशमा आन्तरिक औपनिवेशीकरण रहेको जस्ता हानीकारण दृष्ट्रिकोण लोकतान्त्रिक संविधानका लागि बाधक भएको एमालेले माओवादीलाई आरोप लगाएको छ । 

शान्ति, संविधान र सामाजिक सद्भावकालागि नेपाली कांग्रेसको भूमिका सहयोगि भएपनि अब उसले परिवर्तनको नेतृत्व गर्न नसक्ने र त्यसभित्र पछिल्लो समय देखिएको एमाले विरोधी स्वरहरू त्रुटिपूर्ण रहेको एमालेले काग्रेसलाई लगाएको आरोप छ ।

एमालेको आक्रोश मधेशवादी दलहरूतर्फ केन्द्रीत छ । मधेसका जमिन्दार र अभिजात वर्गको प्रतिनिधित्व गर्ने मधेशका प्रमुख दलहरूको अवसरवादी चरित्र अवसरवादी चरित्र र सत्ता लिप्सा भएको एमालेको निश्कर्ष छ ।

राष्ट्रियता र जनजीविका सम्बन्धमा नेकपा-माओवादीको दृष्टिकोण सकारात्मक भएपनि निर्वाचन बिथोल्ने र हिंसाको बाटो रोज्ने चरित्र गलत रहेको एमालेले विश्लेषण गरेको छ । विगतमा एकीकृत माओवादीले अन्य दललाई यस्तै वर्ग दुस्मन भनेर किटान गर्ने गरेको थियो ।