भोजराज कोइराला
footpath nepali movieसारा नेपालीको सपनाको शहर राजधानी काठमाडौ । निकै ठूलो आशाका साथ शहरको रमझममा रमाउन आउनेहरूको आशाको केन्द्र काठमाडौ । देशका प्रत्येक जिल्लाबाट आफ्नो मिठो भविष्यको सपना देखेर वर्षेनी हजारौ युवाहरू भित्रिने शहर काठमाडौ शहर । जागिर खाने, पढ्ने र आफ्नो नाम कमाउने आशमा काठमाडौ छिरेका युवाले काठमाडौको वास्तविक जीवन तबमात्र देख्छन्, जब उनीहरु काठमाडौका गल्ली गल्लीहरूमा आफ्नो आशा र सपनालाई घिसार्दै हिडिरहन्छन् ।
पढेर जागिर खाने र धेरै पैसा कमाउने सुरमा काठमाडौ छिरेका युवाहरु जो काम नपाएर दिनरात भौतारिरहेका हुन्छन्, तीनको अन्तिम बासस्थान बन्न पुग्छ फुटपाथ । जीवनमा आशाको दियो ननिभाई काठमाडौ शहरमा नै आफ्नो जीवनलाई सफल बनाउने सपना सजाउँदा सजाउँदै फुटफाटमा भएको बासलाई र उनीहरुभित्रको पिडा र दु:खलाई आफैले चिन्न नसक्दा कतिपय युवाले आफ्नो जीवनलाई काठंाडौका फुटपाथमा तेर्स्याइरहेका छन् । कमाउने सपना बोकेर आएका युवाहरू रित्तो हात घर फर्कन नसक्दा बास पनि फुटपाथकै हुन पुग्छ, जसले युवाहरूको जोस र जाँगर समेत मरेतुल्य नै बनाइदिन्छ । यस्तै कथा र व्यथा जहाँ युवाहरुले आफ्नो सपनाको खोजीमा बिताउँछन् र तीनीहरुको प्रतिनिधित्व गर्छ त्यो हो चलचित्र ‘फुटपाथ’।
प्रत्येक ठाऊँमा प्रेम, बिछोड, धोका जस्ता विषयवस्तुमा चलचित्र बनिरहेका बेला फरक ढंगबाट सोच्न खोजीएको चलचित्र हो ‘फुटपाथ’ । यस चलचित्रमा माथी भनिए जस्तै युवाका हरेक पलहरू उमंग, सपना, जागिर, जीवनका भोगाईहरुको कथा समेटिएको छ । जागीर नपाएर भौतारिएका युवाको वास्तविक जीवनलाई चलचित्रमा उतार्ने प्रयास गरेका छन्, निर्देशक राजेन्द्र बिसीले । युवाका हरेक क्रियाकलापलाई समेटेर बनाइएको उक्त चलचित्र फुटपाथको निर्माण गरेका हुन्, जिबी अगरीले । उत्तम मानन्धर , केदार राई , दिपक कडेँल , सपना लामिछाने लगायतका कलाकारको मुख्य भुमिका रहेको फुटपाथ काठमाडौको विभिन्न स्थानमा छायाकंन गरिएको हो । आउँदो वैशाखमा प्रदर्शनमा आउने तयारी गरिएको निर्माता अगरीले बताएका छन् । चलचित्रको सम्पादनको काम भैरहँदा सम्म १५ लाख रुपैँया खर्च भैसकेको उनले जानकारी दिए ।