डा. चिन्तामणि योगी

chintamani-yogi१. धर्म के हो ?
मानव केवल भौतिक सुखमा अल्झेर वा भौतिक वस्तुमा मात्र खुम्चिएर बस्न सक्दैन । जब ऊ यो भन्दा माथि उठेर हामी को हौँ ? कहाँबाट आयौँ? मरेर कहाँ जान्छौँ ? र यत्रो सृष्टि कसरी बन्यो होला ? आदि अतिन्द्रिय विषयहरुमा प्रश्न गर्न थाल्छ, त्यहींबाट नै धर्मको यात्रा शुरू हुन्छ । भौतिकताको यात्रा अति सीमित छ र जब यो यात्रा समाप्त हुन्छ, अर्को यात्रा शुरु भै हाल्छ– अध्यात्मको र यही अध्यात्म नै धर्म हो ।

धर्म मूल स्वभाव हो, मूल प्रकृति हो । धर्ममा कुनै कृत्रिमता वा आडम्बर हुँदैन । धर्म बिना संसारमा केही पनि हुँदैन । धर्म झिकिदियो भने संसार शून्य हुन्छ किनकी अस्तित्वहीनता र स्वभावहीनताको जुन स्थिति हुन्छ, त्यसलाई नै शून्य भनिन्छ । अतः धर्मले नै यो सृष्टि अडेको छ, यो प्रकृति चलायमान छ, चर–अचर यावत् गतिशील छन् र सम्णूर्ण प्राणी स्पन्दनशील छ ।

विभिन्न वस्तुको आ–आफ्नो धर्म भए जस्तै मानवको धर्म हो– मानवता । मानवता छैन भने मानव–मानव होइन भन्ने कुरा स्वतः सिद्ध भैहाल्छ । त्यसैले एउटा मानवलाई अर्को मानवसँग मिलाउने तत्व नै धर्म हो । ईष्र्या, घृणा र द्वेष छ भने मानव –मानवसँग मिल्न सक्दैन, प्रेम, दया र करूणा छ भने मानव–मानवसँग स्वतः मिलि नै हाल्छ । अतः धर्म नै एकमात्र यस्तो तत्व हो जस्ले मानवलाई दानव बन्नबाट बचाइरहेको छ ।

 

२. हिन्दू धर्मको स्वरूप:
ohmधर्म के हो ? भन्ने बुझेपछि धर्मका प्रकारहरूबारे वा विविधताबारे जान्न स्वतः उत्सुकता जागेर आउँछ । संसारमा जसरी विभिन्न किसिमका वस्तुहरु छन् र तिनीहरुको आफ्नो आफ्नो धर्म छ । त्यसैगरी यस संसारमा विभिन्न किसिमका धर्महरु छन् र तिनीहरुको आ–आफ्नो किसिमका विशेषता वा स्वरूप छन् । हिन्दू धर्म, जैन धर्म , बौद्ध धर्म, सिख धर्म , मुस्लिम धर्म, क्रिश्चियन धर्म आदि जति पनि धर्म छन्, ती सबैका आ–आफ्ना विशेषता र स्वरूप छन् । तर, यसमा मुख्यतः ध्यान दिनुपर्ने कुरा के छ भने हिन्दू धर्म नै यी सबै धर्मको मूल हो र यी सबै धर्म अन्ततोगत्वा नदीहरू समुद्रमा मिले जस्तै हिन्दू धर्ममा नै गएर मिल्छन् ।

हिन्दू धर्म कुनै व्यक्ति विशेषद्वारा कुनै विशेष परिस्थिति र समयलाई आधार बनाएर बनाइएको धर्म नभएर स्वतःनै सिर्जित भएकोले यसमा मानव मात्रलाई नै अट्न सक्ने खालको विस्तीर्णता छ । “एकं सद्विप्रा बहुधा वदन्ति” भन्ने यसको दार्शनिक आधार भएकोले सबैप्रति नै उदारताको भाव छ । यो धर्म मानव धर्मकै पर्याय भएकोले अथवा मानव मात्रलाई समेटिएको दर्शन र सिद्धान्त भएकोले नै यसको स्वरूप यस्तै हुन्छ भनेर किटान गर्न पनि सकिँदैन र आजसम्म कसैले सकेका पनि छैनन् । तर, अन्य धर्म व्यक्तिविशेष, ग्रन्थविशेष र पद्धतिविशेषमा बाँधिएकोले एवं विशेष समय र परिस्थितिको उपज भएकोले धर्म नभैकन सम्प्रदाय हुन् भन्दा बढी युक्तिसंगत देखिन्छ किनकी धर्म निश्चित समयमा व्यक्तिविशेषद्वारा जन्माइँदैन तर सम्प्रदाय व्यक्तिविशेषद्वारा निश्चित सिद्धान्त प्रतिपादनका लागि जन्माइन्छ ।

अतः संसारमा एकमात्र धर्म छ– त्यो हो मानव धर्म र यो मानव धर्म नै हिन्दू धर्मको रुपान्तर हो किनकी सनातन हिन्दू धर्मले मानव मात्रका लागि “वसुधैव कुटुम्बकम्” र “आत्मा खलु विश्वमूलम्” भन्ने सन्देश सर्वप्रथम यो ब्रहाण्डमा गुञ्जाएको थियो ।

३. हिन्दू शब्दको अर्थ र महत्व:
हिन्दू एक व्यापक शब्द हो, यो कुनै खास उपासना पद्धतिलाई बुझाउने शब्द होइन । उदाहरणका लागि आर्यसमाजीहरु मूर्तिपूजा गर्दैनन् र सनातनीहरु गर्छन् तर पनि यी दुवै हिन्दू नै हुन् । हिन्दू शब्द कुनै समूहविशेषको वा वर्गविशेषको द्योतक पनि कदापि होइन किनभने “हिन्दू” को अर्थ हो– “हीनम् दुनोति इति हिन्दू” अर्थात् हीनतालाई जसले परित्याग गर्छ, ऊ हिन्दू हो । यस दृष्टिले हेर्ने हो भने प्रत्येक त्यो मानव हिन्दू नै हुन्छ जो वास्तवमा हीनता त्यागी आदर्श मानव बन्ने प्रयत्न गर्छ । यसमा क्रिश्चियन, मुस्लिम आदि भन्ने प्रश्न नै उठ्दैन ।

यसैगरी हिन्दू शब्द कुनै एक सम्प्रदायविशेषको परिचायक पनि कदापि होइन किनकी हिन्दू धर्म त सबै सम्प्रदायहरूलाई समेट्ने र प्रेरणा दिने मूल हो । त्यसैले त “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः” भन्ने यसको मूल मन्त्र रहेको छ (यसमा सर्वे भनिएको छ, हिन्दू भनिएको छैन ) तथा “वसुधैव कुटुम्बकम्” भन्ने यसको जीवन आदर्श रहेको छ । यस्तै प्रकारले हिन्दू शब्द धर्मको परिचायक मात्र नभएर यस राष्ट्रको राष्ट्रियता नै हो । राष्ट्रियता भनेको राष्ट्रिय जीवन दर्शन र राष्ट्रिय जीवन प्रणाली हो एवं राष्ट्रिय विभूति र संस्कृति, राष्ट्रिय परम्परा र चिन्तनधारा, राष्ट्रिय मर्यादा र आदर्शको समष्टिगत भाव हो । हिन्दुत्व बिना हाम्रो राष्ट्रियताको यो समष्टिगत भाव कदापि प्रदर्शित हुनै सक्दैन ।

४. हिन्दू धर्मको व्यापकता र प्राचीनता:

क. व्यापकता:
त्यही चीज व्यापक हुन्छ जुन चीज स्थानविशेषमा बाँधिदैन । यो हिन्दू धर्म न त स्थानविशेषमा बाँधियो र न त कालविशेषमा नै बाँधिनेछ । व्यापकता त्यहाँ हन्छ, जहाँ कुनै किसिमको शर्त वा परिधि हुँदैन । यो कुरा हिन्दू धर्ममा ठीक मिल्न आउँछ किनकी यहाँ जुन दर्शन माने पनि, जुन मार्ग /योग अपनाए पनि, जुन देवता पूजे पनि, जुन धर्मग्रन्थ माने पनि र सगुण–निर्गुण, साकार–निराकार आदि जुन विश्वास लिए पनि पूर्ण स्वतन्त्रता छ, न कुनै शर्त छ न कुनै परिधि । आकाशलाई कसैले परिधिमा बाँध्न सक्दैन बरू आकाशद्वारा नै अरू चीज परिधिमा बाँधिइन्छन् । समुद्रलाई कसैले पनि सिमांकित गर्न सक्दैन र सूर्यको प्रकाशलाई कसैले पनि हत्केलाले छोप्न सक्दैन । त्यसरी नै यो हिन्दू धर्म न बाँधिन सक्छ र न त कसैद्वारा छोपिन सक्छ । यो व्यापक छ, विशाल छ र अवर्णनीय छ ।

ख. प्राचीनता:
जुन चीज कहिलेदेखि शुरु भयो भनी कसैले पनि भन्न सक्दैन, त्यो कति प्रचीन होला ? स्वतः सोच्नु पर्ने हुन्छ । यो हिन्दू धर्म प्राचीनताको एकमात्र उदाहरण हो, अन्य जति पनि धर्म वा सम्प्रदायहरु जन्मे, ती सब यसकै छत्रछायाँमा जन्मे र हुर्के । राम, कृष्ण, बुद्ध, महावीर, नानक, जीसस, मोहम्मद पैगम्बर आदि सबै महापुरुषहरु यसकै विशाल आगंनमा जन्मेर, खेलेर, हुर्केर भगवान् बन्न पुगे । २०१३ बर्षको मात्र इतिहास क्रिश्चियनहरुको छ र १४०० बर्षको मात्र इतिहास मुस्लिमहरूको छ तर यो भन्दा धेरै पहिले नै राम, कृष्ण, बुद्ध, महावीर, नानक आदि महापुरुषहरूको जन्म भैसेकेको थियो र उनीहरूले आ–आफ्ना भाषा र शैलीमा जनजनमा धर्मसन्देश पुर्याइसकेका थिए। यसैबाट अनुमान गर्न सकिन्छ कि यो धर्म कति प्राचीन रहेछ ?

५. हिन्दू धर्मको उदारता र सहिष्णुता:

क. उदारता:
जुन धर्म र दर्शनलाई प्रतिपादन गर्नका लागि राम र कृष्ण, मनु र गोरक्षनाथ, वशिष्ठ र विश्वामित्र, वाल्मीकि र कालिदास, दधीचि र शिवी, बुद्ध र महावीर, नानक र दयानन्द जस्ता महान् आत्माहरु जन्मे त्यो धर्म कति उदार होला ? अनुमान गर्न पनि गाह्रो होला । जुन धर्मले भगवान् बुद्धलाई नवम अवतारको रुपमा, महावीरलाई आर्य आचार्यको रूपमा र गुरु नानकलाई महान् गुरूको रुपमा मान्यता दियो, त्यो धर्ममा अनुदारताको प्रश्नचिन्ह लगाउनु पनि आफ्नै अनुदारताको र संकीर्णताको परिचय दिनु मात्र हैन र ? अनेकौं खोला र नदी–नालालाई आफ्नो काखमा शरण दिने समुद्र कति उदार छ ? भनेर अनुमान गर्न सकिन्छ र ? सारा विश्वकै सम्पूर्ण भारलाई वहन गर्ने धर्तीमाता कति उदार छिन् ? भनेर सोध्न मिल्ला र ? ठीक त्यस्तै यो धर्मले नै सबै धर्म र संस्कृतिलाई, सबै पन्थ र सम्प्रदायलार्य प्रश्रय दिएको छ, प्रकाश दिएको छ र टेवा पुर्याएको छ । त्यसैले त आजसम्म पनि कुनै पनि दर्शनाचार्यले, र कुनै पनि नयाँ पन्थका प्रवर्तकले त्यस्तो नयाँ कुरा भन्न सकेका छैनन्, जुन कुरा हिन्दूहरूको प्राच्य धर्मग्रन्थमा नभनिएको होस् ।

भगवान् बुद्ध र महावीरले प्रसार गरेको अहिंसाको सिद्धान्त, गुरु नानकले जोड दिएको पवित्रता र प्रेमको सिद्धान्त, जीसस क्राइष्टले प्रचार गरेको प्रेम र सेवाको सिद्धान्त, मोहम्मद पैगम्बरले प्रचार गरेको ईश्वरभक्तिको सन्देश ,पारसीहरुको सत्यनिष्ठाको सन्देश, यहुदीहरुको ईश्वरनिष्ठाको सन्देश, ताओ र कन्फ्यूशियसको प्रेम र मैत्रीको आदर्श आदि जति पनि धार्मिक जागरणका सन्देशहरु यस धर्तीमा विभिन्न महापुरुषहरुको मुखबाट सुन्दर, आकर्षक र परिमार्जित रुपमा नयाँ नयाँ तरिकाले समय–समयमा प्रस्फुटित भए, ती सबै नै हिन्दूहरुका सर्वमान्य धर्मग्रन्थ–वेद, उपनिषद्, स्मृति, रामायण, महाभारत गीता आदिदेखि पृथक् वा नवीन भने कुनै पनि हालतमा छैनन् । “जसरी पानीलाई कोही जल, कोही वाटर र कोही आब भन्छन् त्यसरी नै ईश्वरलाई कोही भगवान् कोही गड र कोही अल्लाह भन्छन्” भन्ने श्रीरामकृष्ण परमहंसज्यूको उद्गार यस हिन्दू धर्ममा चरितार्थ भएको छ । जुन कुरा पहिलेदेखि नै थियो त्यही कुरालाई समाजको आवश्यकता अनुसार आ–आफ्नो भाषामा पुनः अभिव्यक्त गरिएको मात्र हो भन्ने निर्विवाद नै छ । सागरबाट जति गागर (घैटो) भरे पनि सागर घट्दैन अपितु सागरकै महिमा बढ्छ । किनकी त्यो सागरको पानीले फेरि अर्को ठाउँमा आफ्नै तरिकाले सिञ्चन गर्छ र सृष्टिलाई सुन्दर बनाउने प्रयास गर्छ । यसरी नै यो हिन्दू धर्म सागर हो भने अरू सब यसैबाट निसृत जलधारा वा प्रवाह हुन्, सबै यसकै विभिन्न रुपका प्रस्तुति र प्रस्फुटन हुन् ।

ख. सहिष्णुता:
माथि हिन्दू धर्मको सर्वमान्य, इतिहाससिद्ध एवं प्रमाणसिद्ध उदारता बारे चर्चा गरे पछि अब यसको सहिष्णुताको पक्षमा चिन्तन गर्नु प्रासंगिक हुन जान्छ । जहाँ उदारता छ, त्यहाँ सहिष्णुता त स्वतः सिद्ध नै हुन्छ । उदारता बिना सहिष्णुता र सहिष्णुता बिना उदारताको कल्पना कदापि गर्ने सकिंदैन । दर्शन र सिद्धान्तका दृष्टिले यो धर्म सहिष्णुताकै एकमात्र प्रतीक हो भने व्यावहारिकता दृष्टिले पनि यो धर्ममा दीक्षित विश्वका हिन्दू बन्धुहरूले जुन सहिष्णुता देखाएका छन् त्यो वास्तवमा रोमाञ्चकारी र प्रेरणादायी छ ।

छिमेकी देश भारतमा लगातार सात सय वर्षसम्म हूण, शक, कुषाण, मुगल, मुस्लिम आदि जातिले आक्रमण गर्नु र निर्लज्जताले पनि लाज मानेर आँखा छोप्नुपर्ने जस्ता अति घृणित एवं बर्बर कार्य गर्नु तथा ब्रिटिशहरूले व्यापारको नामबाट सन्धि गरेर देशको अनमोल खजाना सम्पत्ति आदि लुटी भारतलाई कंगाल बनाई दिनु र भारतवासीलाई राज्य, जात, वर्ण, ऊँच–नीच आदिको माध्यमबाट टुक्रा टुक्रामा विभक्त गर्ने प्रयास गर्नु आदि अनेकौ उदाहरण छन् तर पनि हिन्दू सधैं शान्त रहे, सधैं सहिष्णु रहे । हिन्दूहरूले अरू कसैमाथि आक्रमण गरेको एउटा पनि इतिहास छैन, कसैको धर्म र संस्कृतिलाई बिथोल्न खोजेको एउटा पनि उदाहरण छैन । अहिले पनि भारतमा हिन्दूहरुमाथि के कस्ता किसिमका आक्रमण भैरहेको छन् ? सबैलाई थाहा नै छ तर पनि भारत अझै पनि “ईश्वर अल्लाह तेरो नाम, सबको सम्मति दे भगवान्” भन्ने आदर्शमा विश्वास लिएर अघि बढि रहेको छ ।

कैयौ देशहरूमा आज पनि हिन्दूहरु माथि जे जति पनि अत्याचारहरू भैरहेका छन्, ती सबलाई हिन्दूहरू शान्त भएर सहिरहेका छन् किनकी उनीहरूको संस्कृतिले उनीहरूलाई सघैं नै मानव मात्रलाई प्रेम गर, दया गर र करूणा राख भन्ने सन्देश दिरहेको छ । “ईश्वर न काबामा छन् न काशीमा, उनी त सब घरमा र सब दिलमा व्याप्त छन्” भन्ने महात्मा गान्धीज्यूको भनाइ अनुसार सबैमा ईश्वरदर्शन गरी र सबैलाई आदर दिई हिन्दूहरु जीवनयापन गरिरहेका छन् ।

६. हिन्दू धर्मबारे विदेशीहरुको दृष्टिकोण
आफूलाई आफै राम्रो छु भनेर मात्र हुँदैन । अरूले कस्तो भन्छन्, त्यो पनि हेर्नुपर्छ । हामी हिन्दूले आफ्नो धर्मलाई त राम्रो भनि नै हाल्छौँ तर अरूहरूले पनि भनेका उदाहरणहरू सजिलै फेला पार्न सक्छौँ, अनि लहै लहमा होइन, लगनशील भएर निर्णय गर्न सक्छौँ ।
प्रसिद्ध पश्चिमी विद्वान् प्रो. मैक्समूलरले भनेका छन्, “यदि मैले निष्पक्ष भैकन आफूलाई नै भनूँ, कुन साहित्य र दर्शनको आश्रय लिएर सेमेटिक यूनानी र रोमन विचारधारामा बगिरहेका युरोपियनहरू आफ्नो आध्यात्मिक जीवनलाई अझ विकसित, अति विश्वजनीन र उच्चतम बनाउन सक्छन्, भने मैले आर्यावर्ततिर संकेत गर्नेछु ।”

यसै गरी प्रसिद्ध पश्चिमी दार्शनिक रोम्या रोलाँले भनेका कुराहरूलाई स्मरण गरौँ, “मैलै यूरोप र एशियाका सबै धर्मको अध्ययन गरेको छु किन्तु यी सबैमा हिन्दू धर्म नै सर्वश्रेष्ठ हो भन्न मैले ठानेको छु । मलाई विश्वास छ, यसको सामु एकदिन सबै नतमस्तक हुनेछन् ।”
प्रसिद्ध विद्वान् शाँपेन हावरको भनाइलाई संझौं, “हिन्दू दर्शन समान उपयोगी र उन्नति तर्फ लैजान समर्थ स्वाध्याय संसारमा अर्को छैन । यो उच्चतम बुद्धिको उपज हो, भविष्यमा एक दिन सम्पूर्ण मानवको यही नै धर्म हुनेछ ।”

७. हिन्दू धर्मको सही सन्देशः
हिन्दू धर्मको सही सन्देश मानव मात्रलाई सत्मार्गमा समेट्दै पुरूषार्थ प्राप्ति गर्नु हो । न यहाँ जातिगत विभाजनको आधारमा कोही सानो र ठूलो छ, न त यहाँ कोही विद्वत्ताको आधारमा सानो र ठूलो छ । न त यहाँ कोही विद्वत्ताको आधारमा सानो र ठूलो छ । न यहाँ यस्तो खाने नै हिन्दू र नखाने अहिन्दू भन्ने खालको कठोर नियमहरू छन् । न त क्रिश्चियनलाई र न त मुस्लिमलाई नै अहिन्दू भनेर हेय दृष्टिले हेरेको छ । त्यसैले हाम्रो हिन्दू समाजमा आएको समस्यालाई हामी आफै नै समाधान गर्ने तर्फ अघि बढौँ । यसलाई विदेशीहरूको र स्वार्थी तत्वहरूको स्र्वाथपूर्ति गर्ने हतियार बन्न नदिऔँ । हिलोमा सुनको टुक्रा खस्यो भने कसैले पनि मिल्काउँदैन । आफ्नो आमाको शरीरमा फोहोर लाग्यो भने धोइ–पखाली गर्नुको साटो कसैले पनि निष्कासित गर्दैन । यही नै बुद्धिमत्ता हो र यही नै दूरदर्शिता हो ।

८. सारांश:
सारांशमा भन्नु पर्दा धैर्य ,क्षमा ,करुणा आदि नै हिन्दू धर्मको सार हो । नीतिकारहरूले पनि स्पष्ट भनेका छन्:
“धृति क्षमा दमोकस्तेयं शौचमिन्द्रियनिग्रह,
धीर्विघा सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।।
अर्थात् धैर्य, क्षमा, दम, अस्तेय आदि नै धर्मका प्रमुख लक्षण हुन् । धर्मका यिनै लक्षणहरूलाई कतै पञ्चशीलका रूपमा त कतै दश प्रमुख आज्ञाको रूपमा, कतै महाव्रर्तका रूपमा वा संकल्पका रूपमा व्याख्या गरिएका छन् । त्यसैले धर्मका नाममा झगडा नगरौ, धर्मको मर्म बुझौ र वास्तवमै धार्मिक बनौ । हिन्दू धर्मको यही नै सार हो, सन्देश हो र सबैलाई विनम्र अनुरोध पनि हो ।

धर्मौ रक्षति रक्षितः । यतो धर्मस्ततो जयः।।
जय शिवगोरख !

(लेखकः हिन्दू विद्यापीठ/शान्ति सेवा आश्रमका प्रमुख हुनुहुन्छ)