१० कात्तिक, काठमाडौँ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पदमा नेकपा(एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।

व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न १२ बजेर ५ मिनेट जाँदा सो उम्मेदवारी दर्ता गरिएको हो । भण्डारीका प्रस्तावकमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल छन् ।

bidya devi bhandari

त्यस्तै समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का सांसद योगेन्द्र चौधरी, नेकपा(माले)का महासचिव सिपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(संयुक्त)का सांसद जयदेव जोशी, राप्रपा संसदीय दलका नेता दीपक बोहरा, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)का सांसद शिवलाल थापा, नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी, नेपाल परिवार दलका सांसद एकनाथ ढकाल छन् ।

सत्ता गठबन्धनमा सहभागी दलका तर्फबाट संयुक्त उम्मेदवारको रुपमा भण्डारीको उम्मेदवारी दर्ता गराइएको एमालेका सचेतक गोकुल घर्तीले जानकारी दिए । एमालेको सोमबार बसेको स्थायी समितिको बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सहमतिका आधारमा राष्ट्राध्यक्ष चयन हुन नसकेपछि दलहरुले बहुमतीय प्रक्रियाका आधारमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन् । रासस