६ फागुन, काठमाडौं।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रथम एकता महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो अडानबाट पछि हट्दै संघीयता स्वीकार गर्ने संकेत दिएको छ। ‘संघीयता वर्तमान राजनीतिक यथार्थ बनिसकेकाले कम क्षति हुने यसको कार्यान्वयन गर्ने तथा हिन्दु राष्ट्र र राजतन्त्रबारे समुचित निर्णय लिने सहमतिसाथ पार्टीको चारदिने एकता महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुरु हुँदै छ। आजको अन्नपूर्णमा खबर छापिएको छ।

फाइल तस्बिर

राप्रपा अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित भइसकेका छन्। पटकपटकको एकता र विभाजनबाट गुज्रिएको राप्रपाको भावी नेतृत्व महाधिवेशन सुरु हुनुभन्दा दुई दिनअघि सर्वसम्मत भएको हो। थापालाई अध्यक्ष पदमा निर्विरोध गराउन बुधबार अध्यक्ष पदका प्रत्याशी मानिएका पशुपतिशम्शेर राणा तथा डा.प्रकाशचन्द्र लोहनीले संयुक्त हस्ताक्षर गरी समर्थनको प्रतिबद्धता जनाएका थिए। पार्टी नेता लोकेन्द्रबहादुर चन्दले पनि सोही सहमतिमा हस्ताक्षर गरी थापालाई समर्थन गरेका थिए। महाधिवनेश सुरु हुनुअघि नै अध्यक्ष पदमा निर्विरोध नेतृत्व चयन गरेको इतिहास अन्य दलका लागि पनि ऊर्जा हुने विश्वास थापाले व्यक्त गरे।
महाधिवेशनको दुई दिनअघि अध्यक्ष पदमा निर्विरोध निर्वाचित थापाले संघीयता सिद्धान्ततः आवश्यक नभए पनि अहिले यो राष्ट्रिय यथार्थ बनिसकेको बताए।
‘संघीयता तत्काल फर्काउन सक्ने स्थितिमा हामी छैनौं। राप्रपाको प्रयास संघीयता कार्यान्वयनमा राष्ट्रलाई कमभन्दा कम क्षति हुने गरी राष्ट्रिय एकता, अखण्डतामा आँच नपुर्‍याउनेतर्फ केन्द्रित हुनेछ। संघीयता कार्यान्वयन गर्दा हिमाल, पहाड र तराईको सम्बन्ध नटुटोस्। आर्थिक रूपमा सक्षम होउन् भन्ने हाम्रो प्रयास हुनेछ’, अध्यक्ष थापाले भने।
‘पार्टी एकताको मुख्य उद्देश्य र आधार भनेकै देशमा उत्पन्न संकटबाट राष्ट्र र जनतालई मुक्त गराउनु हो। यसबाहेक एकताका लागि कुनै दृश्य/अदृश्य कारण र आधार छैन। राजसंस्था पुनर्बहालीका लागि मात्र होइन’, थापाले भने।