१९ कात्तिक, काठमाडौं । रौतहट बम बिस्फोट घटनामा घाइते भएकाहरुलाई इट्टा भट्टामा हालेर जिउँदै जलाएको आरोपमा पक्राउ परेका पूर्व मन्त्री मोहम्मद अफताब आलमको बयान भोली फेरि हुने भएको छ ।

जिल्ला अदालत रौतहटमा न्यायाधीश दीपक ढकालको इजलासमा एक घण्टा बयान लिएपछि भोली विहान १० बजे उपस्थित हुनेगरी अदालतले प्रहरीकै जिम्मा लगाएको हो । आलमलाई विहान साढे १० बजे नै अदालत पुर्याइएपछि आलमका कानुन व्यवसायीहरुले मिसिलको नक्कलप्रति नपाएको भनेपछि बयान शुरु हुन ढिलाइ भएको थियो ।

आलमको बयान सवा ३ बजे सुरु भएको थियो । भोली बयान सकेर भोली नै थुनछेक बहस अघि बढाइने तयारी छ । थुनछेक बहसका लागि पनि आलम पक्षका २ दर्जन बढी कानुन व्यवसायीले वकालतनामा भरका कारण बहस लम्बिने देखिएको छ ।

आलमलाई २०६४ सालको संविधान सभा चुनावमा बुथ कब्जा गर्नका लागि बम बनाउँदै गर्दा बिस्फोट भएपछि त्यो घटना लुकाउन आलमले घाइतेहरुलाई जिउँदै इँट्टा भट्टामा हालेर मारेको आरोप छ । उनलाई असोज २६ गते प्रहरीले रौतहटबाट पक्राउ गरेको हो । यो घटनामा आलमका भाईसहित १० जनालाई जन्मकैदको मागदावीसहित जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले मुद्दा दायर गरेको छ ।