२० वैशाख,काठमाडौ। सर्वोच्च अदालतमा पत्रकारलाई निशेध गरिएकोप्रति पत्रकारहरुले विरोध जनाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले आज राजधानीमा निकालेको प्रभातफेरी पछि आयोजित कोणसभामा पत्रकारहरुले सर्वोच्च प्रशासनले गरेको निशेधको बिरोध गरेका हुन् ।

महासंघका पुर्वअध्यक्ष होमनाथ दाहालले प्रेस स्वतन्त्रता हनन भएका बेला अदालतका कारण आफु बाँचेको स्मरण गर्दै सर्वोच्चले गरेको निशेध हटाउन माग गरे । उनले प्रेसमाथिको अंकुश न्यायलय स्वयंका लागि सुखद नभएको बताउदै वार्ताबाट समस्याको समाधान गर्न महासंघलाई आग्रह गरे ।

महासंघका महासचिव ओम शर्माले सर्वोच्चको इजलास प्रवेशमा पत्रकारलाई लगाइएको रोक तुरुन्त हटाउन माग गर्नुभयो । उनले पत्रकारमाथि सर्वोच्चले बन्देज लगाए महासंघ आन्दोलनमा जान बाध्य हुने बताए ।
पत्रकार महासंघका उपाध्यक्ष यशोदा तिम्सिना, प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल, प्रेस युनियनका महासचिव शिव लम्साल, क्रान्तिकारी पत्रकार संघका कोषध्यक्ष खिलबहादुर भण्डारी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष कुमार शाह, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा लगाएतकाले समेत पत्रकारलाई न्यायालयमा गरिएको निषेशको बिरोध गरेका थिए ।

कार्यक्रममा गत बर्ष नेपालमा २ सय २७ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको जानकारी दिइएको छ । प्रेस स्वतन्त्रता दिवसका अवसरमा भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि पद्मोदयमोड, पुतलीसडक, बागबजार, रत्नपार्क हुंदै शान्तिवाटीका पुगेको थियो ।