५ चैत, काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले पूर्वसावधानी अपनाउँदै मानिसहरुको भीडभाड हुने स्थान बन्द गर्ने भएको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिको आजको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेलस्थल, जिम, हेल्न क्लब स्वीमङपुललगायतका मनोरञ्जनस्थलहरु बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । बैठकले अत्यावश्यक नभई आवतजावत र हिँडडुल बन्द गर्न आग्रह गरेको छ ।

साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिस भेला हुन पनि रोक लगाइएको छ । यसको अनुगमन प्रदेश सरकार र स्थानीय तहले गर्नेछ ।

सरकारले युरोपका सबै, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुक इरान टर्की, मलेसिया, दक्षिण्कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुबाट आउने सबै यात्रुलाई २० मार्च २०२० मध्यरातिदेखि लागू हुनेगरी १५ अप्रिल अर्थात ३ बैशाखसम्म आगमनमा प्रतिबन्ध लगाएको छ ।