२२ भदौ, कालीकोट।
भाइलाई अनुत्तीर्ण गराएको भन्दै कालीकोटको फुकोटमा एक प्रधानाध्यापकमाथि आक्रमण भएको छ ।

आइतबार विद्यालयबाट घर फर्कंदै गरेको अवस्थामा स्युना–९ का दिलीप फर्सालले हिमनदी प्राथमिक विद्यालयका प्रधानध्यापक लक्ष्मीप्रसाद बरालमाथि आक्रमण गरेको छ । आफ्नो भाइलाई चार वर्ष पहिले विद्यालय पढ्दा अनुत्तीर्ण गराएको उनको आरोप छ ।

आक्रमणकारी फर्सालले मदिरा सेवन गरेर आक्रमण गरेको बताइएको छ । आक्रमणबाट छाती र टाउकोमा गम्भीर चोट लागेको घाइते बरालले बताएकाछन् । आफूलाई दाउराले प्रहार गर्दा बेहोस भएको र आसपासमा रहेका व्यक्ति कोठामा राखेको तीन घन्टापछि होस खुलेको उनको भनाइ छ । उनको स्थानीय स्वास्थ्य चौकी स्युनामा उपचार भइरहेको छोरा रत्नप्रसादले जानकारी दिएका छन् ।

पीडित बरालले इलाका प्रहरी कार्यालय स्युनामा उजुरी दर्ता गरेपछि पक्राउका लागि प्रहरीको टोली पठाइएको छ । रासस