१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारमा १० राज्यमन्त्री थपेका छन् । नेपाली काँग्रेसले आफ्नो भागमा परेका राज्यमन्त्रीहरुको नाम हिजो बुझाएपछि उनीहरुलाई आज सिंहदरबारमा प्रचण्डले सपथ गराएका हुन् ।

काँग्रेसले सिफारिस गर्दा बुझाएका व्यक्तिहरुको नाम र मन्त्रालयमा अन्तिम समयमा केही हेरफेर गरेको छ । चार राज्य मन्त्रीको मन्त्रालय सपथ हुनु केही समय अघि मात्रै हेरफेर हो ।

यसअघि वन मन्त्रालयको जिम्मेबारी दिने भनिएका दीर्घराज भाटलाई वन तथा भू संरक्षण र वन मन्त्रालय भनिएका सिताराम महतोलाई भौतिक पूर्वाधार तथा यातायत राज्य मन्त्रीमा नियुक्त गरिएको छ । सहरी विकास भनिएका सुवर्ण ज्वारचनलाई बाणिज्य र बाणिज्य भनिएकी मिठू मल्ललाई सहरी विकास मन्त्री बनाइएको छ ।

मन्त्रालय फेरिएकाे थाहा नपाउँदा सहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्नका लागि दुबै राज्यमन्त्री मल्ल र ज्वारचन पुगेपछि कर्मचारी अलमलमा परेका थिए । पहिला ज्वारचनको नेपप्लेट राखिएको मन्त्रीको कार्यकक्ष बाहिर फेरि हतारहतार कागजमा लेखेर मल्लको नेमप्लेट राखिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीमा इन्द्रबहादुर बानियाँ, श्रम तथा रोजगार राज्य मन्त्रीमा दिलिप खवास गच्छेदार, स्वास्थ्य राज्य मन्त्रीमा तारामान गुरुङ, खानेपानी तथा सरसफाई राज्य मन्त्रीमा दीपक खड्का, सिंचाई राज्य मन्त्रीमा सुरेन्द्रराज आचार्य र उद्योग राज्य मन्त्रीमा कञ्चन चन्द्र वादेले सपथ ग्रहण गरेका छन् । मन्त्रीपरिषद बिस्तारसँगै ४१ सदस्यीय भएको छ ।