२९ चैत, बाबियाचौर (म्याग्दी) । म्याग्दीको नारच्याङदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गमा जोडिएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविरसम्म जोड्ने पदमार्गको स्तर वृद्धि गर्न लागिएको छ । पर्यटन विभागको रु ४० लाख अनुदानमा गत वर्ष नारच्याङ गाउँदेखि छेलुङ हुँदै निलगिरि खोलाको किनारै किनार भएर आधार शिविर पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको थियो ।

पदमार्ग क्षेत्रमा पूर्वाधार निर्माणका लागि यस वर्ष रु २० लाख बजेट प्राप्त भएको गाउँ संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिए । “पदमार्ग निर्माण गरेपछि आरोही र पर्यटक हेलिकप्टरबाट जानुपर्ने समस्या हटेको छ,” गुरुङले भने – “यस वर्ष पदमार्गको स्तरवृद्धि र विस्तार गरेर सहजरुपमा आवतजावत गर्न सक्ने बनाउँछौँ ।”

यसअघि सहज पदमार्ग नहुँदा हेलिकप्टर तथा मुस्ताङको कुञ्जो हुदै घुमाउरो बाटो भएर अन्नपूर्ण आधार शिविर जानुपर्ने बाध्यता थियो । अब नारच्याङबाट नेपाली एकै दिन र विदेशी दुई दिनमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सक्ने अध्यक्ष गुरुङले बताए ।

अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को रु १० लाख अनुदानमा निलगिरि खोलामा दुई वटा झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । अप्ठ्यारो ठाउँमा बाटो विस्तार गर्न पर्यटन बोर्डले जिल्ला समन्वय समितिमार्फत रु छ लाख उपलब्ध गराएको छ ।

एक्यापले नारच्याङ्को लेक गाउँमा सामुदायिक विश्राम गृहको भवन निर्माण गर्न रु दुई लाख २१ हजार र लेकगाउँ–खोप्रा पदमार्ग बनाउन रु दुई लाख सहयोग गरेको छ । यो पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविर सबैभन्दा छिटो पुग्न सकिन्छ ।

एक्याप इलाका कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुईकेलले पुराना पदमार्ग सडकका कारण विस्थापित भएको अवस्थामा नारच्याङ–अन्नपूर्ण बेसक्याम्प पदमार्ग वैकल्पिक गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए ।

पदमार्गको स्तरवृद्धिसँगै त्यहाँ पुग्ने पर्यटकको आवास सुविधाका लागि सामुदायिक विश्रामगृह सञ्चालन गर्न एक्यापले दिग्दर्शन तयार पारेर वन मन्त्रालयमा पेस गरेको छ । “हिमाली क्षेत्रका नयाँ गन्तव्यमा आवासको समस्या रहेको छ,” कुर्इंकेलले भने – “विद्यामान ऐन नियमसँग नबाँझिने गरी त्यस क्षेत्रमा सामुदायिक होटल सञ्चालनका लागि जग्गा भाडामा दिने व्यवस्था मिलाउन पहल गरिएको छ ।”

समथर फाँट निलो तलाउ । तलाउ नजिकै उभिएका अग्ला हिमाल । सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता हो । अग्ला पहाड हुँदै झर्ने झरना, जङ्गली जनावर, चराचुरुङ्गी, वनस्पति, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण हो । रासस