अन्ततः सीताहरणको दण्ड लङ्कापति रावणले पाएरै छाडे, श्रीराम विजयी भए। तथापी, एकजना पात्रको मन अझै भरिएको थिएन। उसको अपमानको घाउ अझै पुरिएको थिएन, बदलाको आगोमा जल्न अझ बाँकी नै थियो। ‘सुरपङ्ख’, रावणकी प्रिय बहिनी- जसको कारण नै रामायण युद्ध भएको थियो, उसले आफ्नो अपमानको बदला तिर्न बाँकी नै थियो।
जब उनले सुनिन् कि सीतालाई उनकी पति श्रीरामले त्यागिदिए, तब सुरपङ्ख आफ्नो बदलाको काँटा फिँजाउन तयार भइन्। उनले याद गरिन् त्यो अपमानको घडी, कसरी राम र उनका भाई लक्ष्मणले आफ्नो स्वाभिमानलाई नङ्ग्याइदिएर आफ्नो नाक काटिदिएका थिए। झलझली याद गर्दै थिइन् सुरपङ्खले आफ्नो अपमानको पल! यहि कारण नै उनका दाई ‘रावण’ले रामसँग बदला लिन तत्पर भएका थिए। तर भाग्यले अर्कै मोड लिन पुग्यो र रावणको मृत्यु भयो।
रावणको वध गरेर श्रीराम, सीता, लक्ष्मण र वानरसेना अयोध्या फर्किएपछि अयोध्याका बासिन्दाहरूले सीताको पतिव्रता र निश्चलता माथि प्रश्न उठाएका थिए। आफ्नै जनताको लहैलहैमा लागेर श्रीरामले आफ्नी धर्मपत्नी सीतालाई त्याग्नुपरेको थियो। सीताले पनि आफ्ना पतिको आज्ञा स्वीकारी गर्भमा रामको चोला बोकेर जङ्गलतर्फ प्रस्थान गर्न बाध्य भइन्।
घनाघोर जङ्गलको गहिराईमा पुग्न चाहन्थिन् सीता माता, ताकि कसैले उसलाई भेट्न नसकोस्। यसै क्रममा उनको भेट वाल्मिकी ऋषीसँग भयो, जसले उनलाई आफ्नो आश्रममा आश्रय दिएर राखे। केहि महिनामा सीताको गर्भबाट रामका दुई पुत्र ‘लव र कुश’को जन्म भयो। उनीहरूको दिनचर्या शान्तले बितिरहेको थियो, सीताले पनि अतीतलाई भुलाउने कोशिस गर्दै थिइन्, तर उसले आँशुको बाटो कहिल्यै पनि अँगालिनन्।
एकदिन, बदलाको ध्येयले सुरपङ्ख सीता भएकै ठाउँमा आइपुगिन् र सीताको यस्तो बिजोग देखेर मनमनै प्रसन्न भइन्। श्रीरामको मायामा लाडिएकी महारानी सीतालाई अहिले जङ्गलको बीचमा एकसरो कपडा लगाएर बसेको देख्दा सुरपङ्खको घाउको खोट भर्न लागेको थियो। यत्तिकैमा उनले सीतालाई नमज्जाले अपमान गर्न थालिन्, उनको यस्तो हालतप्रति व्यङ्ग्य गर्न थालिन्। आफ्नै पति रामले पनि पवित्र सीतालाई त्याग्नुपरेको भन्दै सुरपङ्खले व्यङ्ग्यात्मक तरिकाले खिल्ली उडाउँन थालिन्। तर सीता मौन थिइन्, एकदम चुप!
मौनताको अस्त्रले प्रहार गर्दै सीताले मुस्कुराइन् र सुरपङ्खलाई जवाफ दिनुको सट्टा उल्टो उनलाई मीठो र ताजा फल खाने प्रस्ताव राखिन्। उनले भनिन्- “यो फलको स्वाद मन्दोदरीको बगैँचामा फलेको फलको जस्तै छ, लाऊ चाखेर हेर!”
यसरी खिल्ली उडाउँदै परिस्थितीको बोध गराएपछि त सीताको आँखाबाट आँशु झर्छ होला, उसको मुटु पनि दुखेर भक्कानिन थाल्छिन् होला भन्ठानेकी सुरपङ्खले सीताको मुस्कान र अचल व्यवहार देखेर छक्कै परिन् र झन् भित्रभित्रै जल्न थालिन्। तथापी, सीतालाई न दुःख लागेको थियो, न पीडा भएको थियो। उनले त आफ्नो भाग्यलाई स्वीकारेकी थिइन्।
सुरपङ्खको पीडा र चिन्तालाई बुझेर सीताले गम्भीर हुँदै भनिन्- “म कति बेर कुरुँ, मैले अरूलाई माया गरेसरी अरूले पनि मलाई माया गरून् भनी? त्यसैले, हे सुरपङ्खे! तिमी अरूको मायाको आश नगर, अरूको मायामा तिम्रो वश छैन। माया त तिम्रो मनमा छ, जुन तिम्रै वशमा छ। त्यो अनगिन्ती छ, त्यो अनन्त छ! माया बाँड्न सिक, माया गर्न सिक। आफ्नो भोकलाई मेटाउनको लागि अरूलाई भोजन गराउन सिक। जति आश गर्छौ त्यति पीडा पाउँछौ।”
सीताको यस्तो बेअर्थको कुरा सुनेर सुरपङ्ख झन् बढि क्रोधित भइन् र आफ्नो अपमानको लागि न्याय माग्न थालिन्। सीताले पनि भनिन् कि उसलाई अपमान गर्नेले उहिल्यैदेखि दण्ड भोग्दै आइरहेका छन्। सीताले उनलाई सम्झाइन् कि जबदेखि राम र लक्ष्मणले उसको नाक काटिदिएका थिए, त्यो दिनदेखि उनीहरूले कहिल्यै सुखले सुत्न पाएका छैनन्। सीता माताले यो पनि सम्झाइन् कि दशरथ पुत्र श्रीरामले आफ्नै पत्नीको वियोग झेल्नुपरेको छ, त्यो भन्दा ठूलो दण्ड अरू के हुन सक्छ र? तर सुरपङ्खको मन अझै विचलीत थियो।
सीताले भनिन्- “हे ब्रह्मपुत्री! तिमी आफ्नै पीडाको बन्धनमा बाँधिएकी छौ। अतीतले तिमीलाई अन्धो बनाइरहेको छ। यो पथले त तिमीलाई रावणकै मार्गतर्फ लैजाँदैछ। आफ्नो अतीतबाट बिउँझिउ लङ्कानन्दनी, जाउ आफ्नो राज्य सम्हाल। संस्कार त आउँछ जान्छ, राम र रावण पनि आउँछ जान्छ। तर प्रकृति सदावहार छ, बरु आऊ सँगै प्रकृतिको काखमा हराऔँ।”