बलिउडमा फरक धारका फिल्महरुले सफलता पाइरहेका छन्। ती दिन गइसके जब दर्शक ठूला अभिनेता, विदेशी लोकेशन, आलिशान सेटको चकम-धमक, वा ग्लामर्सको लागि फिल्म हेर्दथे।

वास्तविकतासंग जोडिएका घटना, अलग विषयमा बनेका फिल्मले अहिले बलिउड बक्स अफिसमा आफ्नो कमाल देखाइरहेका छन्। बलिउडमा सफल मानिने केही फिल्मी फर्मुलाले अहिले काम गर्न छोडेका छन्। बलिउडका यी हिट मानिने फर्मुलाले अब फिल्म हिट बनाउने ग्यारेन्टी गर्न मिल्दैन।

जनर जसमा दम छैन…

पिरियड ड्रामा
हिस्टोरिकल ड्रामा, पिरियड ड्रामा, कस्ट्युम ड्रामा, अर्थात पुरानो समयको सेटमा सुटिङ गरिएका फिल्म बलिउडमा सधै हिट हुने गरेको छ र केही निर्माताले पिरियड ड्रामा रचेर वर्षौसम्म बक्सअफिसमा राज गरेका छन्। तर यो विषयको पनि दिन गइसकेको छ। सन् २०१८ मा आएको पद्दावतले जरुर बक्सअफिसमा राम्रो व्यापार गर्यो तर १७ अप्रिल २०१९को कंलकलाई दर्शकले पुरै नकारे।फिल्ममा संजय द्त्त, माधुरी दिक्षित, आलिया भट्ट, वरुण धवन, आदित्य रोय कपूर र सोनाक्षी सिन्हा जस्ता स्टार हुँदा पनि सफल भएन। १५० करोड भारुमा बनेको फिल्मले १०० करोड भारु पनि कमाउन सकेन।

फिल्म निर्माता/निर्देशकले ठूला स्टार, राम्रो कस्ट्युम र दामी सेट त देखाए तर कथावस्तु नै कमजोर भयो। यही कारण दर्शक फिल्मसंग जोडिन सकेनन्।

सामाजिक कथा
यो विषयमले पनि बलिउड फिल्मका दर्शकलाई अब तान्ने देखिदैन। समाजिक कथावस्तुमा बनेको फिल्म हिट नै हुन्छ भन्ने दिन गए। २१ सेप्टेम्बर २०१ मा रिलिज भएको शाहिद कपूर र श्रद्धा कपूरको ‘बत्ती गुल मीटर चालू’ मा बिजुली चोरीको विषय उठान गरिएको थियो। त्यस्तै १८ जनवरी, २०१९ को आएको इमरान हाश्मीको ‘चीट इन्डिया’मा भारतको शिक्षा व्यवस्थाको पोल खोल्ने कोसिस गरियो। यी दुवै फिल्म वक्स अफिसमा चलेनन।

भीएफएक्स
बाहुबली पश्चात बलिउडमा भीएफएक्सको लहरनै आएको। कम्प्युटर ग्राफिक्सले निर्माण गर्ने वस्तु तथा सिनको प्रयोग फिल्ममा बढी गर्न थालियो। तर यो मन्त्रले सधै काम नगर्ने देखियो। अघिल्लो वर्ष आएको ‘ठग्स अफ हिन्दुस्तान’ बलिउडमा नराम्ररी पछारियो। आमिर खान, अमिताभ बच्चन, कट्रिना कैफ स्टारर ठग्स अफ हिन्दुस्तान वर्षकै सबैभन्दा महंगो फिल्ममध्येको एक थियो, तर कमजोर कथाले फिल्म डुब्यो। २४० करोड भारुको बजेर थियो, जसको ६० प्रतिशत भिएफएक्समा खर्च भएो थियो।

त्यस्तै सन् २०१८ को क्रिसमसमा आएको शाहरुखको जीरोमा पनि भिएफएक्सको राम्रै प्रयोग भयो। फिल्मले शाहरुखलाई नै जीरो बनाएर गयो।

बायोपिक
पछिल्लो केही वर्ष देखि बलिउडमा बायोपिकको बाढी नै आएको छ। पछिल्लो एक वर्षमा धरै बायोपिक रिलिज भए, तर यो फर्मुला बक्सअफिसमा काम गरिरहेको छैन। यो वर्षको सुरुवातमा आएको बाल ठाकरेको बायोपिक ‘ठाकरे’ र मनमोहन सिंहको बायोपिक ‘एक्सीडेन्टल प्राइम मिनिस्टर’ यसको प्रमाण हो। दुवै फिल्म फ्लप भयो। यसको वाबजुद बायोपिकको सिलसिला जारी छ। नरेन्द्र मोदी, साइना नेहवाल, आनन्द कुमार जस्ता बायोपिक फिल्म रिलिजको तयारीमा छन्।

देशभक्ति
बलिउडमा सबैभन्दा चलेको जनर हो देशभक्ति। बेबी फिल्म बनाएका निर्देशक नीरज पान्डेयलाई पनि यो विषयले लोभ्यायो। उनले बनाए अय्यारी, जुन बक्सअफिसमा फ्लप भयो।

सिक्वेल
सन् २०१८ बलिउडमा सिक्वेल वर्ष रह्यो। तर धेरै फिल्मका सिक्वेल बलिउडमा धराशायी भए। जस्तो कि रेस-३। रेस फ्रेन्चाइजको तेस्रो फिल्ममा सलमान खान, बबी देवल, ज्याकलिन फर्नान्डिज जस्ता स्टार थिए, तर फिल्म टिक्न सकेन। फिल्मले निर्मातालाई ३० करोड भारु चुना लगायो। यसपश्चात ‘ह्याप्पी फिर भाग जाएगी’ ‘यमला पगला दीवाना फिर से’ र ‘साहेब बीवी और गैंगस्टार-३’का सिक्वेल पनि सफल भएनन्।