२४ माघ, काठमाडौं ।
मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन हुन नसक्नुको साथै निर्वाचनको मिति घोषणा गर्न असफल भएकाले प्रधानमन्त्री प्रचण्डले नैतिकताको रुपमा राजिनामा दिनुपर्ने माग राप्रपाले गरेको छ ।

फाइल तस्बिर

ओली सरकारलाई विस्तापित गरेर मधेसको समस्या समाधान गर्नुको साथ संविधान कार्यान्वयन गर्न गठन भएको सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष राप्रपाले निकालेको छ ।

राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले प्रचण्ड नेतृत्वको सरकार गठन भएको छ महिनाको अवधिमा तीन बुँदे सहमति कार्यान्वयन नभएको बताउदै संविधान कार्यान्वयन गर्न असफल सरकारले अब नैतिकताको हिसाबमा राजिनामा दिनुपर्ने बताए ।

उनले नेपाली हेडलाइन्ससँग भने, ‘जुन उदेश्य र औचित्यको लागि गठन भएको हो त्यही औचित्य पुष्टि नभएपछि अब नैतिकताको रुपमा प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनुपर्छ ।’ सरकारले निर्वाचन आयोगलाई निर्वाचनको लागि पत्राचार गरेपनि स्थानीय तहको हो कि प्रदेशको हो ? स्पष्ट नभएको बताउदै उनले सरकारले निकास दिनुको सट्टा समस्यामाथि समस्या थप्दै गएको बताए ।

‘निर्वाचन आयोगलाई गरेको पत्राचार जनतालाई भ्रम सृजना गरेको काम हो’,प्रमुख सचेतक गिरीले भने,‘प्रचण्ड नेतृत्वको सरकारले तीन बुँदे सहमति न फेद भेटयो न टुप्पु ?’ राप्रपाले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित गर्न नदिने बताउदै आएको छ ।