१ फागुन, एजेन्सी।

अमेरिकी सरकारले पाकिस्तानलाई आठ वटा अत्याधुनिक लडाकु विमान बिक्री गर्ने सम्झौतालाई मञ्जुरी दिएको छ । अमेरिकाले बेच्न लागेको विमानमा निकै चर्चित F-16 नामका लडाकु विमान सामेल छन्।

1024px-F-16_June

विमान सहित अमेरिकाले पाकिस्तानलाई राडार र अन्य अत्याधुनिक उपकरण उपलब्ध गराउनेछ। लकहिड मार्टिन कर्पले बनाएको ८ वटा F-16 लडाकु विमानका लागि पाकिस्तानले ६ सय ९९ मिलियन अमेरिकी डलर तिर्ने छ।

F-16 लडाकु विमानले जुन सुकै मौसममा पनि कारवाही अघि बढाउन सक्दछ भने रातको समयमा पनि यसले काम गर्दछ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यो सम्झौताको बारेमा सिनेटरहरुलाई अग्रिम जानकारी गराइसकेको जनाएको छ।

अमेरिकी सिनेटले चाह्यो भने यो सम्झौतालाई ३० दिन भित्र रोक्न सक्दछ तर यसको संभावना निकै कम मानिन्छ । अमेरिकी रक्षा मन्त्रालयले यी लडाकु विमानले पाकिस्तानी सैनिक सामर्थ्यमा अभिवृद्धि हुने र आतंकवाद विरुद्धको लडाईमा बल पुग्ने जनाएको छ ।

यता पाकिस्तानको कडा प्रतिदन्द्धी भारतले यो सम्झौताप्रति आपत्ती जनाउँदै निराशा जनाएको छ । भारतले पाकिस्तानसंग लडाकु विमान सम्झौताले आतंकवाद विरुद्धको लडाईमा सहयोग पनि नगर्ने प्रतिक्रिया जनाएको छ । सम्झौताबाट आहत भारतले नयाँ दिल्लीमा रहेका अमेरिकी राजदुतलाई विदेश मन्त्रालयमा बोलाएर जानकारी समेत मागेको छ ।

भारतले सिमापारको आतंकवादमा पाकिस्तानले सहयोग गरेको भन्दै पाकिस्तानको रेकर्ड आफै बोल्ने प्रतिक्रिया जनाएको छ ।

अमेरिकाले पाकिस्तानलाई बेच्न लागेको F-16 विशेषता के छ ?
F-16 लडाकु विमान मल्टिरोल विमान हो। यो हावाबाट हावामा र हावाबाट जमिनमा मिसाइल प्रहार गर्न सक्षम छ। यो विमान प्रतिघण्टा २५०० किलोमिटरको गतिमा उड्न सक्षम छ ।यसै गरि F-16 ले २४०० किलोमिटर रेञ्जमा आक्रमण गर्ने सामर्थ्य राख्दछ ।