२२ साउन, एजेन्सी ।

लगातार मिसाईल परिक्षण गरेर अमेरिका लगायतका देशलाई तर्साउँदै आएको उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने बिषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा सहमति जुटेको छ ।

अमेरिकासम्म मार हान्न सक्ने भन्दै उत्तर कोरियाले गएको जुलाईमा गरेको शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाईलको परिक्षणपछि बसेको सुरुक्षा परिषद्को बैठकमा नयाँ प्रतिबन्धका बिषयमा सहमति जुटेको हो । नयाँ प्रतिबन्धले उत्तर कोरियाका बिशेषज्ञमाथि प्रतिबन्ध लाग्नेछ ।

उत्तर कोरियामा हुँदै आएको लगानी र उसले गर्ने सामानको निर्यात पनि कटौती गरिएको बिबिसीले जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले उत्तर कोरियामाथि लागेको नयाँ प्रतिबन्ध अन्य कुनै पनि देशमा लाग्दै आएको प्रतिबन्धभन्दा निकै कठोर भएको प्रतिक्रिया दिएका छन् ।

चीनमा कोईला, कच्चा धातु तथा अन्य कच्चा पदार्थ निर्यात गर्दै आएको उत्तर कोरियाले हरेक बर्ष ३ अर्ब डलरको सामान बाह्य देशमा पठाउने गरेको छ । नयाँ प्रतिबन्धले उत्तरमाथि एक अर्ब डलरको व्यापार कटौती गरिदिने बिश्लेषकहरुको भनाई छ ।

यसै बर्ष मात्रै चीनले पनि उत्तरमाथि दबाब बढाउन कोईलाको आयात रद्द गरेको थियो । तर संयुक्त राष्ट्र संघसहितका बिभिन्न शक्ति राष्ट्रको प्रतिबन्धका बावजुद पनि उत्तर कोरियाले आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।