१७ माघ, एजेन्सी ।

चीन र अमेरिकाबीच दक्षिण चीन सागरको विषयलाई लिएर तनाव बढेको छ । दक्षिण चीन सागरमा चीनले गतिविधी बढाएको समयमा अमेरिकाले खुला चुनौती दिएको हो ।

चीनले दावी गर्दै आएको विवादित दक्षिण चीन सागरमा चीन विरुद्ध अमेरिकाले घेराबन्दीको नीति लिएको छ । यसै क्रममा अमेरिकाले दक्षिण चीन सागरमा मिसाइल विध्वंसक तैनाथी बढाएको छ । अमेरिकाले युद्धपोत पठाएपछि चीनले यसको कडा विरोध गरेको छ ।

US Missile Destroyer in China Sea

अमेरिकी रक्षामन्त्रालयका प्रवक्ता मार्क राइटले वाशिङ्टनमा बोल्दै पार्सेल द्वीपमा तैनाथ गरिएका मिसाइल विध्वंसकले त्यहाँ दावी गरिरहेका पक्षाहरुलाई चुनौती दिने बताए ।

उता आफ्नो जलक्षेत्रमा क्षेप्यास्त्र विनाशक युद्धपोत पठाएको भन्दै अमेरिकालाई चीनले यस्तो गतिविधी नगर्न चेतावनी दिएको छ । अमेरिकी कदम गैरकानूनी र अन्तराष्ट्रिय कानून विपरित रहेको भन्दै चीनले आफ्नो देशको सार्वभौमिकतामाथि धावा नबोल्न सचेत गराएको हो ।

यो युद्धपोतले युद्धको समयमा आइपर्ने सबै क्रियाकलाप गर्न सक्ने बताइएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले कुनै पनि देशको आक्रामक ब्यवहारको कडा जवाफ दिइने स्पष्ट पारेका छन् ।

चीनले उक्त क्षेत्रमा अन्य देशका नौसेनालाई ओहोर दोहोर गर्न रोक लगाउँदै आएको छ तर अमेरिकाले भने सबै देशका नौसेना उक्त क्षेत्रमा आवत जावत गर्न सक्ने तर्क गरेको छ ।

चीनले आफ्नो दावी गर्ने उक्त जलक्षेत्र अमेरिकाको भनाइमा अन्तराष्ट्रिय जलक्षेत्र हो ।

यो विवादित जलक्षेत्रमा चीन, ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइबान र भियतनामबीच विवाद रहँदै आएको छ । त्यहाँका कतिपय टापुमाथि धेरै देशले दावी गर्ने गरेका छन् ।