१४ चैत, एजेन्सी ।

अमेरिकाको युनाइटेड एयरलाइन्सले आइतबार विहान २ युवतीलाई यात्रामा रोक लगायो । कारण थियो उनीहरुले लगाएको ‘लेगिंग्स’। तर यस्तै कपडा लगाएकी अर्की एक युवतीलाई भने चेक जाचपछि यात्रामा कुनै रोकावट भएन  । यहि विषयलाई लिएर सामाजिक सञ्जालमा उक्त एयरलाइन्सविरुद्ध चर्को आलोचना र विरोध समेत भइरहेको छ ।

वासिङ्टन पोष्टका अनुसार उक्त विमान डेनवरबाट मिनीपोलीसको लागी उडान भर्दै थियो । डेनवर इन्टरनेसनल एयरपोर्टमा जब चेकिङ सुरु भयो प्रहरीले लेगिंग्स लगाएका ती दुई युवतीको टिकट नै रद्द गरिदियो ।

यहि विषयलाई लिएर युनाइटेड एयरलाइन्सले हवाई यात्रामा यात्रुले लेगिंग्स लगाउनु नियम विपरित रहेको बताएको छ । साथै उसले यो सबै यात्रुको सुरक्षाको लागि यस्तो नियम बनाएको जनाएको छ ।

एयरलाइन्सका प्रवत्ता जोनाथन गुइरिनले यस घटनाको पुष्टि गर्दै ती दुई युवतीलाई विमानमा जान रोकेको बताए। ती २ युवती ‘इम्प्लोइ पास’ (कर्मचारी पास) लिएर विमान चढेको र कर्मचारीले निश्चित ड्रेस कोड पालना गर्नुपर्ने भएकाले लेगिंग्स लगाउँदा विमानमा प्रवेश गर्न नदिइएको उनले बताए। उनले अन्य यात्रुको लागि भने यस्तो नियम लागु नहुने र विमानमा नरोकिने पनि स्पष्ट पारे।