९ माघ, एजेन्सी । जंगलामा सल्किएको डढेलो विमानस्थल नजिक आइपुगेपछि अष्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थल बन्द गरिएको छ ।
संसद भवनबाट २० मिनेटको दूरीमा रहेको विमानस्थलका सबै उडानहरु रद्ध गरिएका बिबिसीले जनाएको छ । तापक्रम बढेपछि विहीबार फेरि डढेलो फैलिएको अधिकारीहरुले बताएका छन् ।

डढेलो नियन्त्रणमा परिचालन गरिएको एउटा विमान पनि राजधानीबाट दुई किलोमिटर टाढा रहेको स्नोइ माउन्टेनमा दुर्घटनाग्रस्त भएको बताइएको छ । न्यू साउथ वेल्स रुलर फायर सर्भिसले एउटा ठूलो हवाई ट्याङ्करसँग सम्पर्क टुटेको पुष्टि गरेको छ । न्यू साउथ वेल्समा अहिलेपनि १ सय भन्दा धेरै डढेलो बलिरहेका छन् । क्यानबेरामा भने दुईवटा डढेलो विमानस्थल नजिकै आएपछि विमानस्थल बन्द गर्नुपरेको अधिकारीहरुलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । मानिसहरुलाई विमानस्थल नजिक जान दिइएको छैन ।

गत सेप्टेम्बरदेखि नै डढेलोको चपेटामा रहेको अष्ट्रेलियामा अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ । लाखौं जनावरहरु डढेर मरेका छन् । सिड्नी र मेलबर्नको बीचमा रहेको क्यानबेराको सीमा क्षेत्रमा ठूला डढेलोहरु सक्रिय रहेका समाचारमा जनाइएको छ । एक करोड हेक्टरभन्दा धेरै क्षेत्र डढेलोले सखाप पारेको छ । केही दिन अघिको वर्षाले डढेलोका संख्या आधा भएपनि फेरि फैलिन थालेकाले जोखिम उस्तै रहेको अधिकारीहरुले बताएका छन् ।