२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गरेका छन् ।

सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको सन्देश प्रवाह गर्दै ट्वीटमा लेखेका छन्, ‘सर्जरी पछी आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो । “साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ । छिट्टै म काममा फर्किन्छु।” धेरै खुशि लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू !’

फाइल तस्बिर

उनी गत सोमबार मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए । उनको बुधबार मृगौला प्रत्यारोपण गरिएको छ । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मृगौला दिएकी हुन् । अहिले दुवैजनाको स्वास्थ्य अवस्था स्थिर रहेको छ । दुवैले तरल पदार्थहरु खान थालेका छन् ।