dev gurung१२ चैत, पर्वत । नेकपा-माओवादीका सचिव देव गुरूङले चार शक्ति बाहेक अन्य दललाई पाखा लगाएर गरिन लागेको निर्वाचन पूर्व राजा ज्ञानेन्द्रले गरेको निर्वाचन भन्दा फरक नहुने धारणा राखेका छन् ।
पर्वतमा भएको पत्रकारसँगको भेटघाटमा उनले ज्ञानेन्द्र शैलीको निर्वाचन आफ्नो पार्टीलाई मान्य नहुने बताउँदै ११ बुँदे सम्झौता र अन्तरिम संविधानका २५ बुँदामा गरिएको संशोधन खारेज नभएसम्म निर्वाचन हुन नसक्ने ठोकुवा गरे । उनले ठूला भनिएका दलहरूले विदेशीको ईशारामा सहमति गरेको बताउँदै दलहरूले नेपाललाई अफगानिस्तान बनाउन खोजेको आरोप पनि लगाए ।

उनले देशमा देखिएको साम्राज्यवाद र विस्तारवादको विरूद्धमा आफ्नो पार्टी हिडेको बताउँदै आफूहरुले जनतालाई धोका नदिने बताएका छन् । आफ्नो पार्टी निर्वाचनको विपक्षमा नभएको बताउँदै उनले वर्तमान खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्री परिषद विघटन गरेर सर्वदलीय, सर्वपक्षीय सरकार गठन गरेमात्र निर्वाचनमा भाग लिने बताए ।