८ भदौ, एजेन्सी ।

आक्रमण हुनसक्ने सूचना पाएपछि अमेरिकी सांगीतिक ब्याण्ड अल्लाह–लसले नेदरल्यान्ड्सको रोटर्डाममा गर्न लागेको सांगीतिक कार्यक्रम स्थगित गरिएको छ । स्पेनिस प्रहरीको सूचनाका आधारमा नेदरल्यान्ड्सको प्रहरीले अन्तिम समयमा कार्यक्रम स्थगित गर्न लगाएको हो ।

स्पेनिश प्रहरीले सूचना दिएको केही बेरपछि प्रहरीले ग्यासका सिलिण्डर बोकेको एउटा भ्यानलाई कार्यक्रम स्थल जानबाट रोकेको थियो । स्पेनमा दर्ता गराइएको सो भ्यानको चालकलाई नियन्त्रणमा लिएर सोधुपुछ भइरहेको बीबीसीले जनाएको छ ।

उनको आक्रमण गर्ने योजनाबारे अहिले नै केही खुलिनसकेको रोटर्डामका मेयर अहमद अबुतालेबले बताएका छन् । अल्लाहको नामको दुरुपयोग गरेको भन्दै आफूहरुलाई बेला बेला धम्की आउने गरेको सांगीतिक ब्याण्ड अल्लाह–लसले जनाएको छ ।

१५ जनाको ज्यान जाने गरी स्पेनका दुईवटा शहरमा आक्रमण भएको एक हप्ता नबित्दै आक्रमणको धम्की आएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।