१७ असोज, काठमाडौं।

यातायात व्यवसायीले आजदेखि फेरी दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छन् ।bus park ticket line kathmandu

सबै टिकट काउन्टरबाट बिहानैदेखि टिकट बुकिङ भइरहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ । सरकारले सिट क्षमता भन्दा बढि यात्रु बोक्न नदिने भनेपछि टिकट बुकिङ बन्द गरेका ब्यवसायीले हिजो सरकारसंग छलफल भएपछि फेरि टिकट खुलाउने सहमति गरेका हुन् ।

सिट क्षमता अनुसार मात्र यात्रु बोक्दा भएको घाटा समितीले ब्यहोर्ने सहमति हिजो भएको थियो । आज बिहानैदेखि टिकट खुला गरिएको र आवश्यक रुटमा गाडी थप गरी यात्रुलाई गन्तव्यमा पुर्याउने क्रममा रहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए ।

यातायात व्यवसायीहरुले असोज ७ गते खुलाइएको बुकिङ केही दिनभित्रै टिकट सकिएको भन्दै बन्द गरेका थिए । बुकिङ बन्द हुँदा दशैंमा घर जान चाहने झण्डै ७ लाख यात्रुले टिकट पाउन बाँकि रहेको ब्यवसायीको अनुमान छ ।

झण्डै १० लाखले भने टिकट पाइसकेका छन् । दशैंका बेला हरेक वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरीने गरेका छन् ।