१ साउन, काठमाडौँ, । हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति) का रुपमा मनाइँदैछ ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुने मान्यता छ ।

“साउने संक्रान्तिका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ” – नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने । साउने संक्रान्तिपछि नेपालमा चाडपर्वको लहर सुरु हुन्छ ।

chura pote 8

साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । प्राकृतिक रुपमा पनि साउन हरियो नै हुन्छ । वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ साउनमा । गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ । हाम्रो संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन ।

पहाडी जिल्लाका धेरै ठाउँमा भने साउन महिनालाई किसानहरुको कोदो रोप्ने महिनाको रुपमा लिने गर्दछन् । हुनपनि असार र साउन महिना कृषकहरुको वर्षभरिको लागी पुग्ने अन्न उब्जाउन दुःख गर्ने महिना हो । तर खेती किसानी संगै पछिल्लो समय साउन महिनामा महिलाहरुले हरियो पहिरन र चुरापोते लगाउने प्रचलन बढ्दै गएको छ ।

chura-mehandi

घर देखी शहर बजार सबैतिर साउन सुरु भएसंगै महिलाहरुको गला हरियो पोतेले सजिएको हुन्छ भने हातहरु हरिया चुराले भरिएका हुन्छन् अनि पहिरन पनि हरिया हुन्छन् । विशेष गरी हरियो चुरा, पोते र मेंहन्दीले शहरबजारमा साउनको रौनक दिन्छ भने व्यापार पनि बढाउँछ । साउन महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । शहरबजारमा आजभोलि हरियो चुरा र लुगा साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेका छन् ।